सोमबार २२ भदौ २०८३
समाज

जलविद्युत् आयोजनाका सुरुङभित्र करिब १२१ जना मात्रै फसेको देखिन्छ : नेपाली सेना

सोमबार भदौ २२, २०८३/ Monday 09-07-26

 

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त करिब ११ वटा जलविद्युत् आयोजनाका सुरुङभित्र करिब १२१ जना फसेको नेपाली सेनाले जनाएको छ ।

सोमबार आयोजित नियमित ब्रिफिङमा सेनाले आयोजनासँग सम्बन्धित करिब ९ सय व्यक्ति सम्पर्कविहीन रहेको विवरण आए पनि ती सबै सुरुङभित्र फसेका व्यक्ति नभएको स्पष्ट पारेको हो । सेनाका अनुसार करिब १२१ जना मात्रै सुरुङभित्र फसेको प्रारम्भिक विवरण छ ।

सेनाका एक प्रतिनिधिले परियोजनाबाट प्राप्त करिब ९ सय जनाको संख्या आयोजनासँग आबद्ध व्यक्तिको भएको र त्यसलाई सुरुङभित्र फसेका व्यक्तिको संख्याका रूपमा बुझ्न नहुने बताए ।

सेनाले सरकारले खोज तथा उद्धार अभियान रोक्ने निर्णय नगरेसम्म आफ्नो अभियान निरन्तर जारी राख्ने जनाएको छ । सबै सुरुङमा ‘ब्रेकथ्रु’ अर्थात् सुरुङभित्रको अवरोध पार गर्दै खोजी कार्य सम्पन्न नभएसम्म उद्धार अभियान नरोकिने सेनाको भनाइ छ । सेनाले अझै पनि सुरुङभित्र फसेकाहरूलाई जीवितै उद्धार गर्ने आशा रहेको जनाएको छ ।

कुन आयोजनामा कसरी भइरहेको छ खोजी ?

रसुवागढी जलविद्युत् आयोजना:
नेपाली सेनाको खोज तथा उद्धार टोली, द्रुत प्रतिकार्य टोली र आयोजनाका प्रतिनिधि सम्मिलित टोलीले पावरहाउस तथा नियन्त्रण कक्षसम्म पुगेर खोजी गरिरहेको छ ।

त्रिशूली–३ ए:
पावरहाउस र सुरुङ क्षेत्रमा उद्धारका आवश्यक सामग्रीसहित नेपाली सेनाको टोली निरन्तर खोज तथा उद्धार कार्यमा परिचालित छ ।

त्रिशूली–३ बी:
अडिट–२ बाट सुरुङभित्र प्रवेश गरेको सेनाको टोली अडिट–१ बाट बाहिरिएको छ । अडिट–२ को सुरुङमार्फत उत्खनन मेसिन लैजान सक्ने अवस्था बनाउन बाटो सफा गर्ने काम भइरहेको छ । हालसम्म उक्त क्षेत्रमा कुनै व्यक्ति वा अन्य सामग्री फेला परेको छैन ।

चिलिमे हाइड्रो:
विदेशी प्राविधिकसहितको संयुक्त टोलीले सानो उत्खनन मेसिन र लेदो तान्ने पम्प प्रयोग गरेर सुरुङभित्र जमेको लेदो हटाउने काम गरिरहेको छ । हेलिकप्टरमार्फत स्याफ्रुबेंसीमा पुर्‍याइएको उत्खनन मेसिनलाई डोरीको सहायताले सुरुङ क्षेत्रसम्म लैजाने प्रयास भइरहेको छ ।

माथिल्लो त्रिशूली–१:
विदेशी प्राविधिकसहितको टोलीले तापीय क्यामेराको प्रयोग गर्दै सुरुङभित्र थप खोजी तथा सम्भावित व्यक्तिको अवस्थाबारे जानकारी संकलन गरिरहेको छ ।

भोटेकोशीमा आएको बाढीपछि क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेनासहित विभिन्न टोली परिचालन भइरहेका छन् ।

तपाईको प्रतिक्रिया