त्रिशूली ३ बीमा फसेकाका आफन्तको बिलौना : १३ दिन बितिसक्यो, उद्धार कार्यले गति लिएन
काठमाडौं। त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन माग गर्दै पीडित परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
चाँडोभन्दा चाँडो अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य अघि बढाउन माग गर्दै बेपत्ता भएका व्यक्तिका परिवारले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले मित्रराष्ट्रसँग सहयोग लिएर भए पनि उद्धार कार्य प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा बेपत्ता भएका सुमेश अमात्यको दाइ रमेश अमात्यले १३ दिन बितिसक्दा पनि उद्धार कार्यले गति लिन नसकेपछि सरकारको आँखा खुलाउन र छिटो उद्धारका लागि दबाब दिन धर्नासहित प्रदर्शन गर्नुपरेको बताए ।
बाढी आएको समयमा क्याम्प भवनमा बैठक बसिरहेको र सोही भवन पुरिँदा करिब ४२ जना थुनिएको हुनसक्ने उनले बताए ।
पहिले लगिएको सानो एक्जाभेटरले काम गर्न नसकेको र ठूलो एक्जाभेटर ढुवानी गर्न सक्ने क्षमताको हेलिकप्टर नहुँदा उद्धार रोकिएको उनको भनाइ छ ।
उनले ठूला हेलिकप्टर र उपकरणका लागि भारत वा चीनजस्ता छिमेकी मुलुकहरूले सहयोग गर्ने तत्परता देखाउँदा पनि सरकारले समयमै पहल नगरेको भन्दै तत्काल उच्च क्षमताका उपकरण ल्याएर उद्धार गर्न माग गरे।
तपाईको प्रतिक्रिया