काठमाडौँ । नेपाली सेनाले भोटेकोशी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य सबै सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म निरन्तर जारी राख्ने जनाएको छ ।
सोमबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवासजंग थापाले सरकारले खोजी रोक्ने निर्णय नगरेसम्म सुरुङभित्रको खोज तथा उद्धार अभियान जारी रहने स्पष्ट पारे ।
भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेपछि नेपाली सेना, सशस्त्र प्रहरी र विदेशी उद्धारकर्मी संयुक्त रूपमा उद्धार अभियानमा परिचालित छन् । सहायक रथी थापाका अनुसार सबै सुरुङको अवरोध हटाएर ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य रोक्ने योजना छैन ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अनुसार बाढीका कारण प्रभावित आयोजनाका स्थल तथा विद्युत् सुरुङमा रहेका ८९८ जना सम्पर्कविहीन भएका छन् । बाढीबाट रसुवाका रसुवागढी जलविद्युत् आयोजना, रसुवा–भोटेकोशी, माथिल्लो मेलुङ–ए, लाङटाङ खोला, चिलिमे र मेलुङ खोला प्रभावित भएका छन् ।
त्यस्तै, नुवाकोटका त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी र मिडल त्रिशूली गङ्गा जलविद्युत् आयोजना पनि बाढीबाट प्रभावित भएका छन् ।
माथिल्लो त्रिशूली–१ मा चिनियाँ नागरिकको उद्धार
संयुक्त उद्धार टोलीले माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरेको सेनाले जनाएको छ । उनलाई सुरुङभित्र करिब ११५ मिटर भित्रबाट उद्धार गरिएको हो ।
२१६ मेगावाट क्षमताको उक्त आयोजनाको सुरुङमा प्रवेश गर्दा उद्धारकर्मीलाई समेत अक्सिजनको आवश्यकता पर्ने अवस्था रहेको सहायक रथी थापाले बताए । उनका अनुसार नेपाली सेना र कोरियाली उद्धारकर्मीको संयुक्त टोली सुरुङभित्र प्रवेश गरेर खोजीमा जुटेको थियो ।
त्रिशूली–३ एमा चार स्काभेटर र तीन वाटर पम्प
नुवाकोटस्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको पावरहाउसमा उद्धारका लागि चारवटा स्काभेटर र तीनवटा वाटर पम्प प्रयोग गरिएको सेनाले जनाएको छ ।
यस आयोजनाबाट उद्धार टोलीले दुई जनालाई जीवितै बाहिर निकालेको थियो भने एक जनाको शव पनि फेला पारेको थियो । पावरहाउसको ढोका पहिचान गरेर भित्र प्रवेश गर्ने प्रयास भइरहेको भए पनि ढोकाभित्र ठूलो मात्रामा लेदो पसेका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको सेनाको भनाइ छ ।
सहायक रथी थापाका अनुसार सुरुङको करिब १७५ मिटरभित्र पावरहाउस रहेको र त्यहाँ पुग्न उद्धार टोलीलाई करिब १० दिन लागेको थियो ।
त्रिशूली–३ बीमा ४० जना पुरिएको आशंका
त्रिशूली–३ बी जलविद्युत् आयोजनामा करिब ४० जना मानिस पुरिएको आशंका गरिएको छ । घटनास्थलमा नेपाली सेनाका करिब ९० जना सुरक्षाकर्मी अहिले पनि खोज तथा उद्धारमा खटिएका छन् ।
त्यहाँ जनशक्ति र सावेलको प्रयोगबाट लेदो तथा अवरोध हटाउने काम भइरहेको छ । आवश्यक स्थानमा मिनी स्काभेटरसमेत प्रयोग गरिएको सेनाले जनाएको छ ।
त्रिशूली–३ ए हुँदै त्रिशूली–३ बीको सुरुङसम्म पुग्ने गरी उद्धार टोलीले बाटो खोल्ने तथा अवरोध हटाउने कामलाई निरन्तरता दिइरहेको सहायक रथी थापाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया