नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै
काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा घरघरका पूजाकोठामा नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा छ। धार्मिक मान्यताअनुसार स्कन्दमाताको आराधना गर्नाले भक्तजनले शक्ति, ऐश्वर्य र ज्ञान प्राप्त गर्ने विश्वास गरिन्छ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। यी नौ देवीलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ।
धार्मिक ग्रन्थमा स्कन्दमातालाई कमलको फूल धारण गरेकी तथा सिंहासनमा विराजमान देवीका रूपमा वर्णन गरिएको छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठ गर्ने चलन छ।
वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्। नौ दिनसम्म पूजा गरी चढाइएको प्रसाद दसैँको मुख्य दिन विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा छ। यसरी नेपालीले १५ दिनसम्म बडादसैँ मनाउँछन्।
स्कन्दमातासम्बन्धी पौराणिक कथा
पौराणिक ग्रन्थहरूमा स्कन्दमातासम्बन्धी विभिन्न कथा उल्लेख छन्। एउटा कथाअनुसार ऋषि सनतकुमार ब्रह्मज्ञानमा निपुण थिए। एकपटक भगवान् शिव र पार्वती ऋषिहरूको सभामा पुग्दा सबैले उठेर स्वागत गरे पनि ध्यानमा मग्न सनतकुमार उठेनन्। यसबाट असन्तुष्ट पार्वतीले उनलाई उँट बन्ने श्राप दिइन्।
भगवान् शिवले ज्ञानी व्यक्तिलाई श्रापले पनि विचलित पार्न नसक्ने बताएपछि शिव र पार्वती उँटको रूप धारण गरेका सनतकुमारलाई भेट्न गए। पार्वतीले उँटको रूपमा रहँदा कस्तो अनुभव भएको छ भनी सोध्दा सनतकुमारले आफूलाई कुनै कष्ट नभएको र जङ्गलका काँडा खाँदै पनि ब्रह्मचिन्तनमा आनन्दित रहेको बताए।
ऋषिको ज्ञान र धैर्यबाट प्रभावित पार्वतीले आफूले दिएको श्रापप्रति पश्चात्ताप गर्दै उनलाई पुत्रका रूपमा प्राप्त गर्ने इच्छा व्यक्त गरेको कथामा उल्लेख छ। पार्वतीबाट जन्म लिएका सनतकुमारलाई स्कन्दसँग जोडेर स्कन्दमाताको नाम रहन गएको धार्मिक आख्यान पाइन्छ।
तपाईको प्रतिक्रिया