सोमबार २६ असोज २०८३
समाज

तीन वर्षपछि भक्तजनका लागि खुल्यो तालबाराही मन्दिर

आइतबार असोज २५, २०८३/ Sunday 10-11-26

पोखरा । पोखरास्थित फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही भगवती मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला गरिएको छ।

मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि घटस्थापनाको अवसर पारेर आइतबारदेखि नियमित पूजाआजा सुरु गरिएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ।

विसं २०८० कात्तिकदेखि पुनर्निर्माण थालिएपछि मन्दिरमा नियमित पूजाआजा बन्द थियो। यस अवधिमा नजिकैको हवनकुण्ड क्षेत्रमा चाँदीको मूर्ति स्थापना गरी पूजा हुँदै आएको थियो।

विसं २०७२ को भूकम्पका कारण मन्दिर दक्षिणतर्फ ढल्किएपछि संरचनामा जोखिम देखिएको थियो। पुरातत्त्व विभागको निर्देशन तथा समन्वयमा तीन वर्ष लगाएर मन्दिरको मौलिक स्वरूप र परम्परागत वास्तुकला कायम राख्दै पुनर्निर्माण गरिएको हो। पुनर्निर्माणमा एक करोड ६५ लाख रुपैयाँ खर्च भएको समितिले जनाएको छ।

मन्दिर पुनः खुला भएसँगै भक्तजनको चहलपहल बढेको छ। फेवातालमा डुङ्गा सञ्चालन गर्ने व्यवसायीले पनि मन्दिर खुल्दा पर्यटक तथा दर्शनार्थीको सङ्ख्या बढ्ने अपेक्षा गरेका छन्।

 

तपाईको प्रतिक्रिया