शुक्रबार ३० असोज २०८३
अर्थ

दुई महिनामा झण्डै साढे ४ खर्ब भित्रियो रेमिट्यान्स

बिहीबार असोज २९, २०८३/ Thursday 10-15-26

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालमा ४ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार गत वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले बढेको हो।

गत आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको थियो। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको भदौमा यस्तो रकम १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो।

रेमिट्यान्स आप्रवाह बढेसँगै समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर पनि वृद्धि भएको छ। गत वर्षको पहिलो दुई महिनामा ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ रहेको खुद द्वितीय आय चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ।

वैदेशिक रोजगारीमा जानेको संख्या मिश्रित

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको छ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार नयाँ श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको संख्या ७८ हजार ३२० रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो संख्या ९० हजार १९८ थियो।

त्यस्तै, पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने बढेर ५२ हजार १६३ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या ४५ हजार ८८४ रहेको थियो।

चालु खाता र शोधनान्तर बचतमा वृद्धि

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको चालु खाता र शोधनान्तर स्थिति दुवैमा सुधार देखिएको छ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत १ खर्ब ३० अर्ब ९७ करोड रुपैयाँ थियो।

अमेरिकी डलरमा गणना गर्दा चालु खाता बचत गत वर्षको ९३ करोड ६७ लाख डलरबाट बढेर चालु आर्थिक वर्षमा १ अर्ब ११ करोड डलर पुगेको छ।

यसैगरी, समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो रकम २ अर्ब २० करोड रुपैयाँ थियो।

प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भने बढेको छ। गत वर्षको पहिलो दुई महिनामा १ अर्ब २७ करोड रुपैयाँ रहेको यस्तो लगानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २ अर्ब ९८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

शोधनान्तर बचत १ खर्ब ८७ अर्ब ६८ करोड

समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो बचत १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ थियो।

अमेरिकी डलरमा पनि शोधनान्तर बचत बढेको छ। गत वर्षको सोही अवधिमा १ अर्ब १० करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको पहिलो दुई महिनामा बढेर १ अर्ब २३ करोड डलर पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

तपाईको प्रतिक्रिया