काठमाडौं । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज देशभर भाइटीका पर्व मनाइँदैछ। कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका तिहारको मुख्य पर्व हो।
यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने परम्परा छ। यस पर्वलाई यमद्वितीया पनि भनिन्छ।
परम्पराअनुसार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई उपहार तथा दक्षिणा दिने गर्छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीका लगाउन आज दिनभर कुनै बाधा छैन। साइतमा टीका लगाउन चाहनेका लागि बिहान ११ः०७ बजेको समय उत्तम रहेको समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले जानकारी दिएका छन्। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ।
यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
भाइटीकाका अवसरमा दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर निधारमा टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरीका माला पहिर्याउने चलन छ। शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङको टीका लगाउने परम्परा रहेको छ।
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटीलगायत परिकार दिने गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई कपडा, उपहार र दक्षिणा दिएर सम्मान प्रकट गर्ने परम्परा छ।
दिदीबहिनी नहुनेका लागि रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला
भाइटीकाका दिन दिदीबहिनी वा दाजुभाइ नहुनेहरूका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गरिएको छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्रै खुल्ने यस मन्दिरमा भक्तजनले पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।
यसैगरी जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा तथा टीका लगाउने परम्परा छ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त बालगोपालेश्वर मन्दिर पुनर्निर्माणपछि २०७७ सालदेखि पुनः भक्तजनका लागि खुला गरिएको हो।
नेवार समुदायमा किजापूजा
भाइटीकाकै दिन नेवार समुदायले किजापूजा पनि मनाउँछन्। नेवार समुदायमा कुल परम्परा र स्थानीय चलनअनुसार कसैले भाइटीकाकै दिन त कसैले अघिल्लो दिन किजापूजा गर्ने गर्छन्।
भक्तपुरका अधिकांश नेवार समुदायले तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार अघिल्लो दिन नै किजापूजा सम्पन्न गरेका छन्।
तपाईको प्रतिक्रिया