सरकारको दबाबमा साइबर ब्युरोले बोलायो : कांग्रेस सहमहामन्त्री शिवाकोटी
काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी र पत्रकार खड्काबीच सामाजिक सञ्जालमा अप्रमाणित सामग्री नराख्ने सहमति भएको छ।
एकअर्काविरुद्ध परेको उजुरी तथा विवाद समाधानका लागि नेपाल प्रहरीको साइबर ब्युरोले दुवै पक्षलाई आइतबार दिउँसो कार्यालयमा बोलाएको थियो। छलफलका क्रममा आगामी दिनमा सामाजिक सञ्जालमा अप्रमाणित विषयवस्तु पोस्ट नगर्ने सहमति भएपछि विवादले निकास पाएको हो।
यसअघि साइबर ब्युरो पुग्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शिवाकोटीले सरकारको दबाबमा परेर प्रहरीले आफूलाई बोलाएको आरोप लगाएका थिए। उनले सरकारको दबाबमा साइबर ब्युरोमार्फत ताकेता गर्ने र अनुसन्धान अघि बढाउने काम भइरहेको दाबी गरेका थिए।
शिवाकोटीका अनुसार सत्तारुढ दल तथा प्रधानमन्त्री बालेन शाहनिकट व्यक्तिहरूले कांग्रेस र पार्टी नेतृत्वमाथि निरन्तर प्रहार गरेपछि आफूले त्यसको प्रतिक्रिया दिएका थिए। सोही विषयलाई लिएर आफूलाई साइबर ब्युरोमा बोलाइएको हुनसक्ने उनको भनाइ थियो।
सहमति अनुसार भविष्यमा कुनै पनि पक्षले पुनः अप्रमाणित सामग्री सार्वजनिक गरेमा साइबर ब्युरोले जुनसुकै बेला बोलाएर छलफल गर्न सक्नेछ।
शिवाकोटी साइबर ब्युरो प्रवेश गर्दा आफ्ना कानुन व्यवसायीलाई समेत सँगै लैजान चाहेका थिए। तर प्रहरीले कानुन व्यवसायीलाई प्रवेश गर्न दिएन। उजुरीका आधारमा दुवै पक्षलाई सँगै राखेर छलफल गराउँदै सहमति जुटाउन ब्युरोले भूमिका खेलेको थिए।
तपाईको प्रतिक्रिया