बुधबार २५ कार्तिक २०८३
राजनीति

प्रधानमन्त्रीले दिए भाइटीकाको शुभकामना

बुधबार कार्तिक २५, २०८३/ Wednesday 11-11-26

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई थप प्रगाढ बनाउने बताएका छन्।

यमपञ्चकको अन्तिम दिन भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

उनले पौराणिक मान्यताअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई विधिपूर्वक टीका र पूजा गरी आदरसत्कार गरेको प्रसङ्ग स्मरण गरेका छन्।

उक्त परम्पराअनुसार भाइटीकाका दिन दिदीबहिनीबाट टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रहेको उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु र प्रगतिको कामना गर्दै दुबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, तेलको घेरा लगाउने, ओखर फुटाउने र सप्तरङ्गी टीका लगाउने परम्परा रहेको बताएका छन्।

त्यस्तै, विभिन्न परिकार खुवाएर दाजुभाइको सम्मान गर्ने र दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार प्रदान गरी आशीर्वाद ग्रहण गर्ने चलनले पारिवारिक सम्बन्धलाई थप बलियो बनाउने उनको भनाइ छ।

 

तपाईको प्रतिक्रिया