सर्वोच्च अदालतका चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन
काठमाडौं। सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।
समितिको शनिबार बसेको बैठकले प्रस्तावित चारै जना न्यायाधीशको नाम अनुमोदन गरेको हो।
अनुमोदित हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश गोकर्ण डाँगी रहेका छन्।
न्याय परिषद्ले गत असोज २० गते उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। समितिले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया कात्तिक १९ गतेदेखि सुरु गरेको थियो।
समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार चारै जना प्रस्तावित न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका थिए।
संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्नेछन्।
तपाईको प्रतिक्रिया