शनिबार २८ कार्तिक २०८३
समाज

मकवानपुर दुर्घटनामा मृत्यु हुने ११ जनाकै पहिचान खुल्यो, एकै परिवारका आमा र तीन छोरीको मृत्यु

शुक्रबार कार्तिक २७, २०८३/ Friday 11-13-26

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीबार बिहान भएको विद्युतीय सवारी दुर्घटनामा परी ज्यान गुमाउने ११ जनाकै पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार दुर्घटनामा पाँच महिला र छ पुरुषको मृत्यु भएको हो।

मृत्यु हुनेमध्ये १० जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका स्थानीय रहेका छन्। दुर्घटनामा एउटै परिवारका आमा र तीन छोरीसहित अर्को परिवारका श्रीमान्–श्रीमतीले समेत ज्यान गुमाएका छन्।

प्रहरीका अनुसार मृत्यु हुनेमा ३५ वर्षीया पुनम यादव र उनका छोरीहरू १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दिक्षा यादव र ५ वर्षीया दिपिका यादव रहेका छन्।

त्यस्तै, ३६ वर्षीय गुड्डु यादव र उनकी ३२ वर्षीया श्रीमती गायत्रीदेवीको पनि दुर्घटनामा मृत्यु भएको छ।

यसैगरी २६ वर्षीय बिकेश यादव, २६ वर्षीय राम दुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवले ज्यान गुमाएका छन्।

दुर्घटनामा मृत्यु हुने चालकको पनि पहिचान खुलेको छ। उनी सर्लाहीको कबिलासी गाउँपालिका–८ निवासी ३० वर्षीय रवि शंकर कुमार मण्डल रहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया