शनिबार २८ कार्तिक २०८३
अर्थ

तिहार बिदापछि खुलेको सेयर बजारमा गिरावट, नेप्से ६.४४ अंकले घट्यो

शुक्रबार कार्तिक २७, २०८३/ Friday 11-13-26

काठमाडौं । तिहारको लामो सार्वजनिक बिदापछि शुक्रबार खुलेको धितोपत्र बजारमा सामान्य गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ६.४४ अंकले घटेर २ हजार ६४८.७७ विन्दुमा झरेको हो।

यस दिन ३३५ वटा कम्पनीका ७८ लाख ४४ हजार २६७ कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ५ करोड ४२ लाख ७४ हजार ७२५ रुपैयाँको कारोबार भएको छ।

कारोबारमा आएका कम्पनीमध्ये ११० वटाको सेयर मूल्य बढेको छ भने १६० वटाको घटेको छ। बाँकी ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन। कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुग्न सकेन।

यस दिन स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयर मूल्य सबैभन्दा धेरै ७.५६ प्रतिशतले बढेको छ। सामलिङ पावर कम्पनी र एसियन हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशतका दरले वृद्धि हुँदा बेनी हाइड्रोपावर प्रोजेक्ट र सोपान फर्मास्युटिकल्सको मूल्य ३ प्रतिशतका दरले बढेको छ।

कारोबार रकमका आधारमा घोराही सिमेन्ट अग्रस्थानमा रह्यो। कम्पनीको ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, सानिमा माई हाइड्रोपावर र स्वेत गंगा हाइड्रोपावरको १६/१६ करोड रुपैयाँको कारोबार हुँदा शिवम् सिमेन्टको ९ करोड र ग्लोबल आइएमई बैंकको ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

समूहगत परिसूचकतर्फ चार समूहमा वृद्धि देखिएको छ। डेभलपमेन्ट बैंक, होटल्स एण्ड टुरिजम, हाइड्रोपावर र नन लाइफ इन्स्योरेन्स समूहको उपसूचक बढेका छन्। बाँकी समूहका उपसूचक भने घटेका छन्।

 

तपाईको प्रतिक्रिया