शनिबार २८ कार्तिक २०८३
खेलकुद

सुदूरपश्चिमले काठमाडौंलाई दियो १२६ रनको लक्ष्य

शुक्रबार कार्तिक २७, २०८३/ Friday 11-13-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी २४औँ खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनायो।

सुरुवातमै धरमराएको सुदूरपश्चिमको इनिङ्स कप्तान दीपेन्द्रसिंह ऐरीले सम्हाले। उनले ५५ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ६० रन बनाए। योसँगै उनले टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याए।

त्यस्तै थारिन्दु रत्नायकेले अविजित २६ रनको योगदान दिए। आरिफ शेखले १६ रन जोड्दा अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

एक समय ८ रनमै ४ विकेट गुमाएर संकटमा परेको सुदूरपश्चिमका लागि दीपेन्द्र र आरिफले पाँचौँ विकेटका लागि ५४ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए।

काठमाडौंका जाहान्दाद खानले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। सन्तोष यादवले २ विकेट हात पारे।

अब काठमाडौं गोर्खाजले जितका लागि २० ओभरमा १२६ रन बनाउनुपर्नेछ।

 

तपाईको प्रतिक्रिया