लोकतन्त्रमाथि खतराको संकेत देखियो छठपछि आन्दोलन गर्छौँ : कांग्रेस महामन्त्री पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संघीयता र लोकतान्त्रिक व्यवस्थामाथि संकट उत्पन्न भए छठ पर्वपछि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
शुक्रबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले जनताबाट प्राप्त ऐतिहासिक जनमतअनुसार सरकारले काम गर्न नसकेको आरोप लगाए। दुई तिहाइ जनमत प्राप्त सरकारसमेत कार्यसम्पादनमा कमजोर देखिएको भन्दै उनले नागरिकले अपेक्षित परिणाम पाउन नसकेको बताए।
उनले नेपाली कांग्रेस सरकारका सबै कामको विरोध गर्ने पक्षमा नरहेको स्पष्ट पारे। सरकारले जनताको पक्षमा सही ढंगले काम गरे कांग्रेसले सकारात्मक सहयोग गर्ने उनको भनाइ थियो। तर, संघीयता र लोकतान्त्रिक व्यवस्थामाथि खतरा उत्पन्न भए छठपछि आन्दोलनमा जानुपर्ने अवस्था आउने उनले बताए।
महामन्त्री पौडेलले लोकतान्त्रिक उपलब्धिको रक्षा गर्नु सबै राजनीतिक दलको साझा जिम्मेवारी भएको उल्लेख गर्दै जनताको संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिमाथि हुने कुनै पनि प्रहार स्वीकार्य नहुने धारणा राखे।
यसैगरी, उनले पत्रकारिता क्षेत्रमा बढ्दै गएको भय र त्रासप्रति चिन्ता व्यक्त गरे। सरकारको आलोचना गर्ने तथा सार्वजनिक सरोकारका विषय उठाउने पत्रकारलाई त्रसित बनाउने प्रवृत्ति लोकतान्त्रिक मूल्यविपरीत भएको उनको भनाइ थियो।
तपाईको प्रतिक्रिया