शनिबार २८ कार्तिक २०८३
समाज

चैती छठको ‘नहाय–खाय’ विधि आज, आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने

शुक्रबार कार्तिक २७, २०८३/ Friday 11-13-26

महोत्तरी । आस्था, श्रद्धा र निष्ठाको पर्व चैती छठअन्तर्गत आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि गर्दैछन्। यस विधिअन्तर्गत व्रतालुहरू बिहानै नदी, पोखरी तथा अन्य जलाशयमा पुगेर स्नान गरी शुद्धताका साथ पर्वको सुरुवात गर्ने गर्छन्।

छठ पर्वको दोस्रो दिन शनिबार ‘खर्ना’ मनाइनेछ। यस दिन व्रतालुहरू दिनभर निराहार उपवास बसेर साँझ छठी माताको पूजा गर्छन्। त्यसपछि नुनरहित प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ।

पर्वको मुख्य पूजा षष्ठी तिथिका दिन हुनेछ। यस वर्ष आइतबार साँझ व्रतालुहरूले नदी, पोखरी तथा अन्य जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन्।

छठका लागि घरघरमा गहुँ र चामलको पिठोबाट ठकुवा, भुसवा, खजुरिया, पेरियालगायत परम्परागत पकवान तयार गरिन्छ। साथै नरिवल, केरा, सुन्तला, मुला, गाजर, भोगटे, ज्यामिरलगायत फलफूल तथा पूजाका सामग्री बाँसका नाङ्लो, कोनिया र ढाक्कीमा सजाएर सूर्यलाई अर्घ्य दिने चलन छ।

मुख्य पूजाका दिन परिवारका सदस्यहरू भक्तिभावपूर्वक छठका लोकगीत गाउँदै नदी तथा पोखरी किनारमा बनाइएका छठ घाटमा पुग्ने गर्छन्।

यसैगरी, सोमबार बिहान व्रतालुहरू पुनः छठ घाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि पर्वको विधिवत् समापन हुनेछ। यस अवधिमा व्रतालुहरू रातभर घाटमै जाग्राम बस्ने परम्परा छ।

चैती छठ गर्दा मनोकांक्षा पूरा हुने तथा छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ।

 

तपाईको प्रतिक्रिया