शनिबार २८ कार्तिक २०८३
खेलकुद

काठमाडौंलाई ११८ रनमा रोक्दै सुदूरपश्चिम ७ रनले विजयी

शुक्रबार कार्तिक २७, २०८३/ Friday 11-13-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शुक्रबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रन मात्रै बनाउन सक्यो।

सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो। सामान्य लक्ष्य दिए पनि उत्कृष्ट बलिङ गर्दै सुदूरपश्चिमले जित निकालेको हो।

काठमाडौंको सुरुवात निकै खराब रह्यो। टोलीले पावरप्लेभित्रै ३२ रन बनाउँदा दुई विकेट गुमाएको थियो। त्यसपछि पनि नियमित अन्तरालमा विकेट गुमाउँदा काठमाडौं दबाबमा परेको थियो।

काठमाडौंका लागि अफगानिस्तानका स्टार खेलाडी राशिद खानले सर्वाधिक ३५ रन बनाए। उनले ३१ बलमा ५ चौका प्रहार गरे। दुशन हेमन्थाले १८ बलमा २१ रन जोडे। अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।

सुदूरपश्चिमका बलर अनिल खरेलले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। जाहान्दाद खानले ३ विकेट झारे भने स्कट कुगेलाइन, हेमन्त धामी र फाबियन एलेनले समान एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमको सुरुवात निकै निराशाजनक थियो। टोलीले सुरुवाती २ ओभरभित्रै तीन विकेट गुमाएको थियो भने २.३ ओभरमा ८ रन हुँदा चार विकेट गुमाएर संकटमा परेको थियो।

तर कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याए। उनले ५५ बलमा ५ चौका र २ छक्कासहित अविजित ६० रन बनाए। आरिफ शेखले २५ बलमा १६ तथा थारिन्दु रत्नायकेले २३ बलमा अविजित २६ रनको योगदान दिए।

काठमाडौंका जाहान्दाद खानले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। सन्तोष यादवले २ तथा अनिल खरेलले १ विकेट हात पारे।

 

तपाईको प्रतिक्रिया