िथिलामा छठको उल्लास, आज श्रद्धापूर्वक खरना विधि गरिँदै
महोत्तरी । मिथिलासहित तराईका विभिन्न क्षेत्रमा चारदिने छठ पर्वको रौनक छाएको छ। पर्वको दोस्रो दिन आज व्रतालुहरूले श्रद्धा र निष्ठापूर्वक खरना विधि गर्दैछन्।
छठको पहिलो दिन शुक्रबार ‘नहाय–खाय’ विधि सम्पन्न गरेका व्रतालुहरू आज बिहान स्नान गरी दिनभरि निराहार व्रत बस्नेछन्। साँझ चन्द्रदर्शनपछि नयाँ माटोको चुलोमा पकाइएको सख्खर, दूध र चामलको खीर छठी मातालाई चढाएर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ। यसैलाई खरना भनिन्छ।
पर्वको तेस्रो दिन भोलि अस्ताउँदो सूर्यलाई जलाशय तथा नदी किनारमा पुगेर पहिलो अर्घ दिइनेछ। त्यसपछि चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न हुनेछ।
छठमा ठेकुवा, भुसुवा, नरिवल, केरा तथा विभिन्न फलफूल प्रसादका रूपमा चढाउने चलन छ। पछिल्लो समय मधेसी समुदायमा मात्र सीमित नरही पहाडी समुदायले समेत उत्साहपूर्वक मनाउन थालेपछि छठ सामाजिक तथा सांस्कृतिक एकताको पर्वका रूपमा स्थापित हुँदै गएको छ।
तपाईको प्रतिक्रिया