आइतबार २९ कार्तिक २०८३
बिश्वो

ट्रम्प, पुटिन र सीबीच चीनमा संयुक्त भेटवार्ता हुने

शनिबार कार्तिक २८, २०८३/ Saturday 11-14-26

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी साता चीनमा त्रिपक्षीय भेटवार्ता हुने भएको छ ।

ह्वाइट हाउसका अनुसार तीनै नेताबीच चीनको दक्षिणी सहर सेन्जेनमा आयोजना हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा भेटवार्ता हुन लागेको हो ।

ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले भेटवार्तामा विश्वभर आणविक हतियारको सङ्ख्या घटाउने विषयमा छलफल हुने जानकारी दिएकी छन् । राष्ट्रपति ट्रम्पले आणविक हतियारको विस्तारलाई विश्व सुरक्षाका लागि गम्भीर चुनौतीका रूपमा लिँदै आएका छन् ।

भेटवार्तामा इरानसँग सम्बन्धित विषयले पनि प्राथमिकता पाउने अनुमान गरिएको छ । यद्यपि, रुस–युक्रेन युद्धबारे भने छलफल हुने सम्भावना नरहेको बताइएको छ ।

समाचार संस्था एपी र रोयटर्सका अनुसार अमेरिकी एक वरिष्ठ अधिकारीले तीन नेताबीचको भेटवार्ताबाट तत्काल कुनै सम्झौता हुने अपेक्षा नरहेको बताएका छन् । ती अधिकारीले आफ्नो नाम सार्वजनिक गर्न चाहेनन् ।

यसैबीच, ट्रम्प र सीबीच बिहीबार छुट्टै द्विपक्षीय भेटवार्ता हुने कार्यक्रमसमेत रहेको छ । सन् २०२५ मा दोस्रो कार्यकाल सुरु गरेपछि ट्रम्प र सीबीच हुन लागेको यो चौथो भेटवार्ता हुनेछ

 

तपाईको प्रतिक्रिया