आइतबार २९ कार्तिक २०८३
राजनीति

विश्वासको मत लिनुअघि नै मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

शनिबार कार्तिक २८, २०८३/ Saturday 11-14-26

 

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

प्रदेशसभामा सम्बोधनका क्रममा यादवले पदभन्दा जनताको सेवा, विश्वास र प्रदेशको प्रतिष्ठा महत्वपूर्ण रहेको उल्लेख गर्दै राजीनामा दिएको बताए ।

सत्ता साझेदार नेकपा (एमाले)ले गत असोज ३० गते आफ्ना चार मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएपछि यादवलाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो । त्यसपछि गत कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टीले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनको सरकार अल्पमतमा परेको थियो ।

१०२ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न यादवलाई कम्तीमा ५२ सांसदको समर्थन आवश्यक थियो । तर, सत्ता समीकरणमा देखिएको फेरबदलका कारण उनले आवश्यक समर्थन जुटाउन सकेनन् ।

प्रदेशसभामा जसपा नेपालका २७, एमालेका २४, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद रहेका छन् ।

यसअघि जसपा नेपाल, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने प्रयास भएको थियो । जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्ने तयारीसहित नेकपाले यादव सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । तर, जसपा नेपालभित्रै मुख्यमन्त्रीको नेतृत्वलाई लिएर आन्तरिक विवाद देखिएपछि नयाँ समीकरणले पूर्णता पाउन सकेको छैन।

यता, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी सरकारमा आफ्नो पार्टी सहभागी नहुने घोषणा गरिसकेका छन् । यसले नयाँ सरकार गठनको राजनीतिक समीकरण थप चुनौतीपूर्ण बनाएको छ ।

 

तपाईको प्रतिक्रिया