आइतबार २९ कार्तिक २०८३
राजनीति

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २८, २०८३/ Saturday 11-14-26

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । सरकारलाई समर्थन दिएका नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री यादवले आज दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेको जानकारी दिएका छन् । विश्वासको मत जुटाउन विभिन्न राजनीतिक दलसँग छलफल भइरहेको र मतदान हुनुअघिसम्म पनि संवाद जारी रहने उनले बताएका छन् ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए । त्यसपछि नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले पनि कात्तिक २० गते राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

दुवै दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई सरकारको निरन्तरता कायम राख्न आवश्यक बहुमत जुटाउन चुनौती देखिएको छ ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार कायम राख्न कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् ।

 

तपाईको प्रतिक्रिया