एनपीएलमा आज लुम्बिनी र विराटनगर भिड्दै, विराटनगरका लागि आजको खेल निर्णायक हुने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज शनिबार एक खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । खेल अपराह्न ५ बजे सुरु हुनेछ।
साविक विजेता लुम्बिनी लायन्सले एक खेल अगावै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । तर विराटनगर किंग्सका लागि भने आजको खेल प्लेअफ यात्राका दृष्टिले निर्णायक बनेको छ ।
६ खेलबाट चार जित, एक हार र एक खेलमा अंक बाँड्दै ९ अंक जोडेको लुम्बिनी तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट तीन जित र तीन हार बेहोरेको विराटनगर ६ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।
आजको खेलमा विराटनगर विजयी भए प्लेअफ पुग्ने सम्भावना कायम रहनेछ । यस्तो अवस्थामा प्लेअफका बाँकी दुई स्थानका लागि काठमाडौं गोर्खाज, चितवन राइनोज र विराटनगरबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर पराजित भए भने प्लेअफमा पुग्ने चारै टोलीको टुङ्गो लाग्नेछ ।
यसअघि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्लेअफमा स्थान बनाइसकेका छन् । हाल सुदूरपश्चिम १० अंकसहित शीर्ष स्थानमा छ भने लुम्बिनी ९ अंकसहित दोस्रोमा छ । काठमाडौं गोर्खाज ८ र चितवन राइनोज ७ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
काठमाडौं र चितवनको लिग चरणमा एक–एक खेल बाँकी छ । विराटनगर र लुम्बिनीका लागि भने आजको खेल लिग चरणको अन्तिम प्रतिस्पर्धा हो ।
लुम्बिनी आजको खेल जित्दै शीर्ष दुईमा आफ्नो स्थान बलियो बनाउने लक्ष्यमा हुनेछ । उता विराटनगर जित निकाल्दै प्लेअफको दौडमा आफूलाई कायम राख्न चाहन्छ ।
कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भने यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेका छन् ।
तपाईको प्रतिक्रिया