सोमबार ३० कार्तिक २०८३
खेलकुद

एनपीएलमा आज दुई खेल : चितवन–कर्णाली र काठमाडौं–पोखरा भिड्दै, अंकतालिकामा यस्तो छ अवस्था

आइतबार कार्तिक २९, २०८३/ Sunday 11-15-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण लिग चरणको अन्तिम मोडमा पुगेको छ। शनिबारका खेल सम्पन्न भएसँगै अंकतालिकामा लुम्बिनी लायन्स शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ।

लुम्बिनीले ७ खेलबाट ५ जित, एक हार र एक खेल वर्षाका कारण रद्द हुँदा ११ अंक जोडेको छ। उत्कृष्ट नेट रनरेट १.२५६ सहित लुम्बिनी शीर्ष स्थानमा रहेको हो।

त्यस्तै, सुदूरपश्चिम रोयल्सले ७ खेलबाट ५ जित र २ हारसहित १० अंक जोडेको छ। टोली दोस्रो स्थानमा छ। काठमाडौं गोर्खाज ६ खेलबाट ४ जित र २ हारसहित ८ अंकका साथ तेस्रो स्थानमा रहँदा चितवन राइनोज ७ अंकसहित चौथो स्थानमा छ

प्रतियोगिताको प्लेअफमा पुग्ने चार टोली लुम्बिनी, सुदूरपश्चिम, काठमाडौं र चितवन निश्चित भइसकेका छन्। अब बाँकी खेलले यी टोलीको अन्तिम स्थान निर्धारण गर्नेछ।

आज दुई महत्वपूर्ण खेल

आइतबार हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच दिउँसो १२ः३० बजे प्रतिस्पर्धा हुनेछ। चितवन ७ अंकसहित चौथो स्थानमा छ भने कर्णाली ४ अंकसहित सातौँ स्थानमा छ।

दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स भिड्नेछन्। काठमाडौं ८ अंकसहित तेस्रो स्थानमा छ भने पोखरा २ अंकसहित अन्तिम अर्थात् आठौँ स्थानमा छ।

काठमाडौंले आजको खेल जितेमा १० अंकसहित दोस्रो स्थानमा उक्लिने सम्भावना छ। त्यसैले लुम्बिनी र काठमाडौंबीच क्वालिफायर–१ मा प्रतिस्पर्धा हुने सम्भावना पनि छ। चितवनले पनि जित निकाल्दै आफ्नो स्थान सुधार गर्ने अवसर पाएको छ।

अंकतालिकामा विराटनगर पाँचौँ

विराटनगर किंग्स ६ अंकसहित पाँचौँ स्थानमा छ। जनकपुर बोल्ट्स ४ अंकसहित छैटौँ स्थानमा रहँदा कर्णाली याक्स पनि ४ अंकसहित सातौँ स्थानमा छ। पोखरा एभेन्जर्स २ अंकसहित आठौँ स्थानमा छ।

जनकपुर, कर्णाली र पोखराको प्लेअफ यात्रा समाप्त भइसकेको छ। विराटनगर पनि शीर्ष चारमा पर्न नसक्ने अवस्थामा पुगेको छ।

अब प्लेअफको प्रतिस्पर्धा

एनपीएलको लिग चरणपछि शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्। पहिलो र दोस्रो स्थानमा रहने टोलीले क्वालिफायर–१ खेल्नेछन्। त्यसको विजेता सिधै फाइनल पुग्नेछ।

तेस्रो र चौथो स्थानका टोलीबीच एलिमिनेटर हुनेछ। एलिमिनेटरको विजेताले क्वालिफायर–१ मा पराजित टोलीसँग क्वालिफायर–२ खेल्नेछ। क्वालिफायर–२ को विजेता फाइनलमा पुग्नेछ।

 

 

तपाईको प्रतिक्रिया