आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
काठमाडौँ । सूर्यदेवको आराधना र उपासनाको महापर्व छठ आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। चार दिनसम्म मनाइने यस पर्वको मुख्य दिन आज साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गर्दैछन्।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको हो। पर्वको मुख्य दिन षष्ठीका अवसरमा व्रतालुहरू दिनभर निराहार व्रत बसेर साँझ नदी, तलाउ तथा जलाशयका किनारमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ।
छठ पर्वको धार्मिक तथा पौराणिक महत्त्व पनि विशेष रहेको छ। महाभारतमा उल्लेख भएअनुसार पाण्डवहरू अज्ञातवासमा रहँदा द्रौपदीसहित सूर्यदेवको आराधना गरेका थिए। त्यसैगरी सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेको प्रसङ्ग उल्लेख छ।
छठ पर्वमा सूर्यदेवको पूजा गर्दा दुःख, दरिद्रता र रोगव्याधिबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ। विशेषगरी छालासम्बन्धी रोगबाट छुटकारा पाउन सूर्यको उपासना गर्ने परम्परासमेत रहेको छ। यस पर्वमा विभिन्न फलफूल, प्रसाद तथा पूजा सामग्री सूर्यदेवलाई अर्पण गरिन्छ।
यस्तो छ छठ पर्वको व्रत विधि
छठ पर्वको पहिलो दिन कार्तिक शुक्ल चतुर्थीमा व्रतालुले स्नान गरी शुद्ध भोजन गर्ने गर्छन्। दोस्रो दिन पञ्चमीमा खरना विधि गरिन्छ। यस दिन सखर राखेर बनाइएको खीर षष्ठी मातालाई चढाई प्रसादका रूपमा ग्रहण गरिन्छ।
षष्ठी अर्थात् आजको दिन व्रतालुहरू दिनभर निराहार बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। रातभर जाग्राम बसेपछि भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिन लामो छठ पर्व सम्पन्न हुन्छ।
राजधानीका नदी तथा जलाशयमा विशेष तयारी
छठ पर्वका लागि काठमाडौँ उपत्यकाका विभिन्न नदी तथा जलाशय किनारमा विशेष सजावट गरिएको छ। गुह्येश्वरी, गौरीघाट, गहनापोखरी, नागपोखरी र कमलपोखरीलगायत स्थानमा पूजाका लागि आवश्यक व्यवस्था मिलाइएको छ। त्यस्तै वाग्मती, नख्खु र विष्णुमती नदी किनारमा पनि व्रतालुहरूका लागि तयारी गरिएको छ।
विगतमा तराईका केही क्षेत्रमा मात्र सीमित रहेको छठ पर्व अहिले देशभर मनाइने राष्ट्रिय पर्वका रूपमा स्थापित भएको छ। विसं २०४६ देखि सरकारले छठका अवसरमा सार्वजनिक बिदा दिने परम्परा सुरु गरेको थियो। बीचका केही वर्ष रोकिएको सार्वजनिक बिदा पुनः दिन थालिएको छ।
तपाईको प्रतिक्रिया