सोमबार ३० कार्तिक २०८३
खेलकुद

पोखराको कीर्तिमानी जित, काठमाडौं ५५ रनले पराजित

आइतबार कार्तिक २९, २०८३/ Sunday 11-15-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले लिग चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेको छ। यससँगै पोखराले प्रतियोगिताको सुखद अन्त्य गरेको छ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २२५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं १९.५ ओभरमा १६९ रनमै समेटियो।

काठमाडौंका लागि हुसेन तलतले सर्वाधिक ५१ रन बनाए। उनले ३३ बलमा उक्त रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्।

पोखराका दिनेश खरेलले उत्कृष्ट बलिङ गर्दै १८ रन खर्चिएर ४ विकेट लिए। विपिन खत्रीले ३ तथा विपिन आचार्यले २ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रनको विशाल योगफल तयार पारेको थियो।

पोखराका कुशल भुर्तेल शतक बनाउन एक रनले चुके। उनले ५१ बलमा ८ चौका र ८ छक्कासहित अविजित ९९ रन बनाए। त्यस्तै, युवराज सिंह सम्राले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८९ रनको योगदान दिए।

कुशल र युवराजले दोस्रो विकेटका लागि १८६ रनको कीर्तिमानी साझेदारी गरे। कप्तान चामिका करुणारत्नेले ७ बलमा अविजित १९ रन जोडे।

पोखराले बनाएको २२४ रन एनपीएल इतिहासकै अहिलेसम्मको सर्वाधिक योगफल हो। यसअघि दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखराविरुद्ध बनाएको २२० रन उच्च योगफलका रूपमा रहेको थियो।

यस जितसँगै पोखराले लिग चरणको यात्रा जितका साथ टुंग्याएको छ। पोखरा यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको थियो।

७ खेलबाट ४ जित र ३ हारसहित ८ अंक जोडेको काठमाडौं गोर्खाज लिग चरणमा तेस्रो स्थानमा रह्यो। अब काठमाडौंले फाइनल प्रवेशको सम्भावना कायम राख्न बुधबार चितवन राइनोजसँग एलिमिनेटर खेल्नेछ। उक्त खेलको विजेता टोली दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ।

 

तपाईको प्रतिक्रिया