एसिया कप राइजिङ स्टार्समा भारत ‘ए’सँग नेपालको लज्जास्पद हार, ३०६ रनले पराजित
काठमाडौं । एसिया कप राइजिङ स्टार्स (५० ओभर) प्रतियोगितामा नेपाल भारत ‘ए’सँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको छ।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको समूह ‘बी’को खेलमा भारत ‘ए’ले नेपाललाई ३०६ रनले हराएको हो।
टस जितेर पहिले बलिङ रोजेको नेपालले भारत ‘ए’लाई निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३३२ रन बनाउन दिएको थियो।
भारतका लागि कप्तान तिलक वर्माले ११३ बलमा १०७ रन बनाए। त्यस्तै कुमार कुशाग्रले १०२ बलमा ११७ रनको शतकीय इनिङ्स खेले। सुर्यांश शेड्गेले १४ बलमा अविजित ३६ रन जोडे।
नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले समान ३ तथा नन्दन यादवले २ विकेट लिए। पवन सर्राफले १ विकेट हात पारे।
३३३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमै सबै विकेट गुमाउँदै मात्र २६ रन बनाउन सक्यो।
नेपालका लागि पवन सर्राफ र राशिद खानले सर्वाधिक ६–६ रन बनाए। नन्दन यादवले २ तथा ललित राजवंशीले अविजित २ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
भारतका प्रिन्स यादवले ५ विकेट लिए भने हर्षित राणाले ४ विकेट झारे। शाहबाज अहमदले १ विकेट लिए।
यससँगै नेपालले प्रतियोगिताको समूह चरणमा भारत ‘ए’सँग लज्जास्पद हार बेहोरेको छ।
तपाईको प्रतिक्रिया