शनिबार ५ मङ्सिर २०८३
समाज

स्थानीय निर्वाचन वैशाखमा, प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने आयोगको प्रस्ताव

शुक्रबार मङ्सिर ४, २०८३/ Friday 11-20-26

काठमाडौं । निर्वाचन आयोगले आगामी वर्ष स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ ।

शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग आयोगले गरेको छलफलमा निर्वाचनको प्रस्तावित कार्यतालिका प्रस्तुत गरिएको हो ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू सहभागी थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि छलफलमा पुगेका थिए । तर, उनले आफ्नो पार्टीको तर्फबाट निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई सहभागी गराएर फर्किएका थिए ।

छलफलका क्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले आयोगले प्रस्ताव गरेको स्थानीय निर्वाचन वैशाख र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने समयतालिका उपयुक्त देखिएको प्रतिक्रिया दिएका छन् । यद्यपि, पार्टीभित्र थप छलफल र अध्ययन गरेर औपचारिक धारणा सार्वजनिक गर्ने उनको भनाइ छ ।

यसअघि २०७९ वैशाख ३० गते स्थानीय तह र सोही वर्ष मंसिर ४ गते प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो । ती निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल २०८४ जेठ ६ गते समाप्त हुँदैछ ।

कानुनी व्यवस्थाअनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ । वर्तमान जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुअघि नै नयाँ निर्वाचन सम्पन्न गर्ने तयारीस्वरूप आयोगले राजनीतिक दलहरूसँग परामर्श थालेको हो ।

 

तपाईको प्रतिक्रिया