एसिया कप राइजिङ स्टार्स : पहिलो जितको खोजीमा नेपाल आज यूएईसँग भिड्दै
काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज (आइतबार) आफ्नो दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ।
कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको मैदानमा हुने समूह ‘बी’ को उक्त खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ।
प्रतियोगिताको पहिलो खेलमा पराजय भोगेका नेपाल र यूएई दुवै टोली आज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले प्रतियोगिताको पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनको लज्जास्पद हार बेहोरेको थियो। भारत ‘ए’ ले दिएको ३३३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल ११.३ ओभरमा मात्र २६ रनमा अलआउट भएको थियो।
यता, यूएईले पनि आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ६१ रनको हार बेहोरेको थियो। २४६ रनको लक्ष्य पछ्याएको यूएई ४०.५ ओभरमा १८४ रनमै समेटिएको थियो।
समूह ‘बी’ बाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने भएकाले नेपाल र यूएई दुवैका लागि आजको खेल निकै महत्वपूर्ण छ। सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न दुवै टोलीलाई जित आवश्यक छ।
तपाईको प्रतिक्रिया