दसौँ राष्ट्रिय खेलकुदका ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक, सुर्खेतमा मात्रै २२ खेल
कर्णाली । मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ३२ खेलका प्रतियोगितास्थल सार्वजनिक गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको विवरणअनुसार अधिकांश खेल सुर्खेतमा सञ्चालन हुनेछन्। एथ्लेटिक्स, महिला तथा पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपाकताक्रो, हक्की, भलिबल र कबड्डी सुर्खेतमा आयोजना हुनेछन्।
त्यस्तै कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारोत्तोलन, साइक्लिङ र इस्पोर्ट्सका प्रतियोगिता पनि सुर्खेतकै विभिन्न खेलस्थलमा सञ्चालन हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले जानकारी दिएका छन्।
परिषद्का अनुसार टेनिस पनि सुर्खेतमै हुनेछ। महिला तथा पुरुष खो–खो बर्दियामा तथा पौडी र सुटिङ नेपालगञ्जमा आयोजना गरिनेछ।
त्यसैगरी जुडो र कुस्ती सल्यानमा, आइटिएफ तेक्वान्दो दैलेखमा, बुद्धिचाल कालीकोटमा र शारीरिक सुगठन पश्चिम रुकुममा सञ्चालन हुनेछ। महिला तथा पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल भने जुम्लामा आयोजना गरिनेछ।
सदस्यसचिव मेहत्ताका अनुसार सुर्खेतमा मात्रै २२ खेल सञ्चालन हुनेछन्। सल्यानमा दुई तथा जुम्ला, कालीकोट, दैलेख र पश्चिम रुकुममा एक–एक खेल हुनेछ। बाँके र बर्दियामा दुई–दुई खेल आयोजना गरिनेछ।
केही खेल मङ्सिर ८ गतेदेखि नै सुरु हुने भए पनि दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते गरिनेछ।
प्रतियोगितामा करिब ६ हजार खेलाडी र ३ हजार अफिसियलसहित ९ हजार जनाको सहभागिता रहने आयोजकले जनाएको छ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार प्रतियोगितालाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन आयोजक मूल समारोह समितिसहित १४ वटा विभिन्न समिति गठन गरिएको छ।
कर्णालीमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य बनाउन पूर्वाधार, खेलस्थल व्यवस्थापन, खेलाडी तथा अफिसियलको आवास, यातायात र सुरक्षा व्यवस्थापनको कामलाई तीव्रता दिइएको आयोजकले जनाएको छ।
तपाईको प्रतिक्रिया