प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच नयाँदिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ।
नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटवार्ताका क्रममा विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको थियो।
दुवै पक्षले नेपाल र भारतबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य अघि बढाउने विषयमा समेत विचार आदानप्रदान गरेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन्। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय औपचारिक तथा एक्लाएक्लै वार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय कनेक्टिभिटीका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
तपाईको प्रतिक्रिया