सोमबार ७ मङ्सिर २०८३
राजनीति

प्रधानमन्त्री बालेन शाहलाई भारतमा ‘गार्ड अफ अनर’ प्रदान

सोमबार मङ्सिर ७, २०८३/ Monday 11-23-26

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।

भारतीय सेनाको एक टुकडीले राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री शाहलाई सम्मानस्वरूप ‘गार्ड अफ अनर’ प्रदान गरेको हो। सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवन परिसरमा स्वागत गरेका थिए।

भारतको राजकीय भ्रमणका क्रममा आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहको आज उच्चस्तरीय भेटवार्ता तथा विभिन्न कूटनीतिक कार्यक्रमहरू तय भएका छन्।

कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह बिहान १०ः४० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नेछन्।

त्यसपछि बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुनेछ। बिहान ११ः५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुने कार्यक्रम छ।

दिउँसो १२ः३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, दिउँसो १ः१५ बजे भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय गरिएको छ।

भारत भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह साँझ ४ः५० बजे नयाँदिल्लीबाट स्वदेश फर्कने कार्यक्रम छ। उनी साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ।

 

तपाईको प्रतिक्रिया