बिहीबार १० मङ्सिर २०८३
समाज

मनोक्रान्ति विश्वशान्ति ध्यानमय पदयात्रा रूपन्देही आइपुग्यो

बिहीबार मङ्सिर १०, २०८३/ Thursday 11-26-26

रूपन्देही । विश्वशान्ति, आध्यात्मिक जागरण तथा ध्यानको सन्देश फैलाउने उद्देश्यले पोखराबाट सुरु गरिएको मनोक्रान्ति विश्वशान्ति ध्यानमय पदयात्रा रूपन्देही आइपुगेको छ ।

विकासानन्द फाउन्डेसन विश्व परिवार, गण्डकी प्रदेशको आयोजनामा मङ्सिर ३ गते पोखरा–२३ स्थित इको स्पिरिचुअल योग आश्रम, बाराङबाट सुरु भएको पदयात्रा बुधबार बुटवल पुगेको हो ।

मनोक्रान्ति अभियानका नेता एवं आध्यात्मिक गुरु डा. योगी विकासानन्दले पदयात्राका प्रत्येक पाइलालाई ध्यानसँग जोडेर मानसिक शान्ति, आत्मिक आनन्द र सकारात्मक सोचको अभ्यास गराउने उद्देश्य रहेको बताए । उनका अनुसार चक्रमण ध्यानले मनलाई वर्तमानमा केन्द्रित गर्न र विचारको चञ्चलता कम गर्न सहयोग पुर्‍याउँछ ।

करिब २२० किलोमिटर दूरी तय गर्ने लक्ष्यसहित अघि बढेको पदयात्रामा नौमहिने ध्यान शिविरका सहभागी २५ जनासहित ३६ जना साधकसाधिकाको सहभागिता छ । यो अभियानको दोस्रो संस्करण हो । यसअघि पोखरास्थित आश्रमदेखि गोरखनाथ मन्दिरसम्म १२० किलोमिटरको ध्यानमय पदयात्रा गरिएको थियो ।

बुटवल आइपुगेका डा. योगी विकासानन्दलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले कर्णेल उजिरसिंहको तस्बिर प्रदान गर्दै सम्मान गरेका थिए ।

त्यसैगरी योगी विकासानन्द र गुरुआमा कमलेश्वर आनन्दलाई बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं जनप्रतिनिधि नरिश्वर शर्मा पौडेल, अभियन्ता नारायणप्रसाद घिमिरेलगायतले स्वागत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया