त्रिविका ६८१ क्याम्पसमा कार्यक्रम थप्ने तयारी, छनोट मापदण्डमाथि प्रश्न
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ६८१ वटा सम्बन्धनप्राप्त क्याम्पसमा नयाँ शैक्षिक कार्यक्रम, विषय, सेक्सन तथा विद्यार्थी कोटा थप्ने प्रक्रिया अघि बढाएपछि विश्वविद्यालयको छनोट मापदण्ड र पारदर्शितामाथि प्रश्न उठेको छ।
आवश्यक भौतिक पूर्वाधार, दक्ष शिक्षक तथा पर्याप्त विद्यार्थी संख्या नभएका क्याम्पसलाई समेत नयाँ कार्यक्रम सञ्चालनका लागि योग्य ठहर गरिएको भन्दै विद्यार्थी प्रतिनिधि र प्राध्यापकहरूले असन्तुष्टि जनाएका छन्।
काठमाडौं उपत्यकाका आंगिक क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षहरूले त्रिविका उपकुलपति प्राध्यापक डा. भोला थापालाई भेटेर मापदण्ड र सम्बन्धनसम्बन्धी विनियमविपरीत तयार पारिएको सूची पुनरावलोकन गर्न माग गरेका छन्।
त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु अध्यक्ष दीपकराज जोशीले शैक्षिक तथा भौतिक पूर्वाधार अभावका कारण कारबाही हुनुपर्ने अवस्थामा रहेका क्याम्पसलाई समेत थप कार्यक्रम सञ्चालनका लागि योग्य सूचीमा राखिएको आरोप लगाएका छन्। एउटै भवनमा दुई फरक विश्वविद्यालयका कार्यक्रम सञ्चालन गरिरहेका संस्थालाई समेत योग्य ठहर गरिएको उनको दाबी छ।
त्यस्तै, पाटन क्याम्पसका स्ववियु अध्यक्ष रोहित कपालीले सम्बन्धनसम्बन्धी नियम उल्लंघन गर्ने क्याम्पसलाई कारबाही गर्नुको सट्टा थप कार्यक्रम विस्तारको अवसर दिइएको भन्दै आपत्ति जनाएका छन्। निजी क्याम्पसलाई कार्यक्रम विस्तारको अनुमति दिने तर आंगिक क्याम्पसमा विद्यार्थी संख्या घटेर सिट खाली रहने अवस्थाप्रति पनि उनले प्रश्न उठाएका छन्।
विद्यार्थी प्रतिनिधिहरूले विवादित सूची पुनरावलोकन गर्न, कार्यक्रम विस्तार प्रक्रिया तत्काल रोक्न र निष्पक्ष तथा पारदर्शी अनुगमन प्रणाली लागू गर्न माग गरेका छन्। माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
विवाद बढेपछि त्रिवि योजना निर्देशनालयले कार्यक्रम विस्तारका लागि सूचीकृत क्याम्पस तथा कलेजलाई एउटै परिसरमा त्रिविबाहेक अन्य विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन नगरेको स्वघोषणापत्र बुझाउन निर्देशन दिएको छ। त्यसका लागि मंसिर १५ गतेसम्मको समयसीमा तोकिएको छ।
यता, त्रिविका प्रवक्ता नविन्द्र भण्डारीले भने कार्यक्रम विस्तारका लागि सार्वजनिक गरिएको सूची प्रारम्भिक मात्रै भएको स्पष्ट पारेका छन्। उनका अनुसार सूचीमाथि दाबी–विरोध तथा उजुरी दिन सकिनेछ र प्राप्त उजुरीमाथि छानबिन गरिनेछ।
मूल्यांकनमा त्रुटि वा नियमविपरीत काम भएको पुष्टि भए सम्बन्धित क्याम्पसलाई कार्यक्रम विस्तारको अनुमति नदिइने र दोषीमाथि कारबाही गरिने विश्वविद्यालयले जनाएको छ।
तपाईको प्रतिक्रिया