बिहीबार १० मङ्सिर २०८३
राजनीति

इजिप्टमा इन्धन ट्याङ्कर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु, २१ घाइते

बिहीबार मङ्सिर १०, २०८३/ Thursday 11-26-26

काठमाडौं। इजिप्टको राजधानी कायरोमा इन्धन बोकेको ट्याङ्कर दुर्घटनापछि भएको भीषण आगलागीमा परी ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

बुधबार साँझ कायरोको उत्तरी क्षेत्रमा पर्ने वाराकस्थित रिङरोडमा ट्याङ्कर दुर्घटना भएको हो। दुर्घटनापछि ट्याङ्करबाट पेट्रोल पोखिएर आसपासका सवारीसाधनमा आगो सल्किँदा ठूलो क्षति भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

सरकारी पत्रिका अल–अहरामका अनुसार राजमार्गमा गुडिरहेको ट्याङ्करको अगाडि उच्च भोल्टेजको बिजुलीको तार खसेपछि चालकले नियन्त्रण गुमाएका थिए। त्यसपछि ट्याङ्कर सडकको डिभाइडर पार गर्दै पल्टिएको र तत्कालै आगलागी भएको बताइएको छ।

घटनामा घाइते भएकाहरूलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको छ। उद्धार तथा उपचारका लागि ३९ वटा एम्बुलेन्स परिचालन गरिएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आगलागीबाट क्षतिग्रस्त सवारीसाधनका भग्नावशेष बुलडोजरको सहायताले हटाएर सडक सफा गरिएको र हाल यातायात सेवा पुनः सञ्चालनमा आएको सरकारी प्रसारक संस्थाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया