रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो छलफल
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच पाँच घण्टासम्म लामो भेटवार्ता भएको छ।
बिहीबार सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा प्रधानमन्त्री शाहको हालै सम्पन्न भारत भ्रमण, भ्रमणका क्रममा भएका छलफल तथा प्राप्त उपलब्धि, आगामी निर्वाचनको तयारी र सरकारका कामकारबाहीबारे विस्तृत छलफल भएको रास्वपाले जनाएको छ।
पार्टीका अनुसार भेटमा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणका क्रममा भएका गतिविधि, छलफल र उपलब्धिबारे लामिछानेलाई जानकारी गराएका थिए।
त्यसैगरी, आगामी निर्वाचनको तयारी, पार्टीले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियान तथा मन्त्री र मन्त्रालयहरूको कार्यसम्पादनका विषयमा पनि दुई नेताबीच विचारविमर्श भएको थियो।
भेटवार्तामा सरकारले ल्याउन लागेको अध्यादेश र आगामी संसद् अधिवेशनका विषयले समेत स्थान पाएको रास्वपाले जनाएको छ।
रास्वपाले दुई नेताबीचको भेटलाई आत्मीय र सौहार्द्रपूर्ण भएको बताएको छ।
तपाईको प्रतिक्रिया