बुधबार ९ मङ्सिर २०८३
राजनीति

दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने सरकारको निर्णय कायमै, अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

बुधबार मङ्सिर ९, २०८३/ Wednesday 11-25-26

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

अदालतले सरकारको निर्णय तत्काल रोक्नुपर्ने अवस्था नरहेको ठहर गर्दै उक्त विषयमा मुद्दाको अन्तिम सुनुवाइका क्रममा निर्णय गर्ने आदेश दिएको छ।

यससँगै सरकारले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय तत्कालका लागि यथावत् रहने भएको छ। सरकारले कार्कीको स्थानमा डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको थियो।

सरकारको निर्णयविरुद्ध कार्कीले आफूलाई पुनः आईजीपी पदमा बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

 

तपाईको प्रतिक्रिया