प्रधानमन्त्री कार्यालयद्वारा ११ दिनको कार्यप्रगति सार्वजनिक, तल्लो अरुणको निर्माण प्रक्रिया अघि बढ्यो
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मङ्सिर १ देखि ११ गतेसम्म सम्पादन गरेका काम तथा प्रगति विवरण सार्वजनिक गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरी कार्यालयले विभिन्न मन्त्रालय तथा मातहतका निकायबाट भएका प्रशासनिक, नीतिगत, विकास निर्माण र सुशासनसम्बन्धी कामको विवरण सार्वजनिक गरेको हो।
कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार मङ्सिर ८ गते जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको पुनःस्थापना, जीवनयापन र सामाजिक संरक्षणका लागि तयार पारिएको एकीकृत प्याकेज कार्यान्वयनको अवस्थाबारे समीक्षा गरिएको छ। समन्वय तथा सहजीकरण समितिको बैठकले हालसम्म भएका निर्णयको कार्यान्वयन अवस्था मूल्याङ्कन गर्दै बाँकी काम शीघ्र सम्पन्न गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ। नेपाल जेनजी परिषद् गठन तथा सञ्चालनसम्बन्धी आदेशको मस्यौदासमेत तयार गरी राय तथा परामर्शका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको छ।
कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि मातहतका निकाय तथा कार्यालयहरूको व्यवस्थापन परीक्षण प्रभावकारी बनाउन पदाधिकारीसँग अन्तरक्रिया गरी आवश्यक निर्देशन दिएको जनाएको छ। मङ्सिर १० गते बसेको वरिष्ठ व्यवस्थापन समूहको बैठकमा प्रशासनिक तथा व्यवस्थापकीय समस्या, कार्यप्रगति र आगामी कार्यदिशाबारे छलफल भएको थियो।
त्यसैगरी सङ्घ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने वार्षिक योजना, बजेट तथा कार्यक्रमबीच नीतिगत सामञ्जस्यता कायम गर्न र दोहोरोपन हटाउन पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययन गर्ने ढाँचा तयार गरिएको छ। राष्ट्रिय दूरसञ्चार नीति, २०८३ को मस्यौदामाथि पनि सुझाव संकलन गरी परिमार्जनको काम भइरहेको छ।
सरकारी निकायबाट सञ्चालन हुँदै आएका सीपमूलक तालिमको गुणस्तर, प्रभावकारिता र दोहोरोपनको अवस्था अध्ययन गर्न सहसचिवको नेतृत्वमा कार्यदल गठन गरिएको छ। नेपाललाई सूचना प्रविधि आउटसोर्सिङ तथा सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउने उद्देश्यले विदेशी प्रविधि कम्पनीलाई छिटो स्वीकृति दिने विशेष लगानी सहजीकरण नीति तयार गर्नसमेत अध्ययन भइरहेको कार्यालयले जनाएको छ।
यसै अवधिमा राष्ट्रिय साइबर सुरक्षा केन्द्रले मङ्सिर १० गते ‘राष्ट्रिय संवेदनशील सूचना पूर्वाधारको पहिचान र संरक्षण’ विषयक कार्यशाला सम्पन्न गरेको छ। नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल बिमा प्राधिकरण र नेपाल प्रहरीलगायत निकायका सूचना प्रविधिसम्बद्ध अधिकारी सहभागी कार्यशालामा राष्ट्रिय संवेदनशील सूचना पूर्वाधारको महत्त्व तथा राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० बारे छलफल गरिएको थियो।
केही समयदेखि अवरुद्ध सिंहदरबार प्रवेशद्वारको गेटपास प्रणालीलाई प्राविधिक सुधार तथा अद्यावधिकपछि पुनः सञ्चालनमा ल्याइएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रसँगको समन्वयमा सुधार गरिएको उक्त प्रणाली अहिले नियमित रूपमा सञ्चालन भइरहेको छ।
तल्लो अरुणको निर्माण प्रक्रिया अघि बढ्यो
लगानी बोर्डको कार्यालयले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको छ। सन् २०१९ को लगानी सम्मेलनमा प्रस्तुत गरिएको उक्त आयोजना बुट (निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण) मोडलमा निर्माण गर्न प्रतिस्पर्धात्मक प्रक्रियाबाट भारतीय कम्पनी एसजेभीएन लिमिटेड छनोट भएको थियो।
प्रधानमन्त्री बालेन्द्र शाहको मङ्सिर ६ र ७ गते भएको भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा आयोजनाको शिलान्यास गरेका थिए। आयोजना प्याकेज–१ अन्तर्गत भारतीय रुपैयाँ ११ अर्ब ४९ करोड २१ लाखको ठेक्का आह्वान भइसकेको छ। आयोजनाबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।
२९ कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा २९ वटा फर्म तथा कम्पनीलाई प्रचलित कानुनअनुसार कालोसूचीमा राखेको छ। निर्माण तथा परामर्श सेवा खरिदसम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई राय तथा परामर्श प्रदान गरिएको छ।
सार्वजनिक खरिदमा संलग्न श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ सरकारले स्वीकृत गरी जारी गरेको छ। यसले सार्वजनिक खरिद प्रक्रियामा संलग्न श्रमिकको आयस्तर वृद्धि र सामाजिक कल्याणलाई लक्षित गरेको छ।
कार्यालयले सार्वजनिक खरिदसम्बन्धी चारवटा महत्त्वपूर्ण दस्तावेज तयार गर्न परामर्शदातासँग सम्झौता गरी कार्यादेश दिएको छ। त्यस्तै, नयाँ नेपाल इलेक्ट्रोनिक सरकारी खरिद प्रणालीको प्रयोगकर्ता स्वीकृति परीक्षण गरी आवश्यक सुधारका लागि सुझाव दिइएको छ। उक्त प्रणाली कात्तिक १७ गतेदेखि सञ्चालनमा आएको हो।
विभिन्न जिल्लामा अनुगमन तीव्र
राष्ट्रिय सतर्कता केन्द्रले प्राविधिक परीक्षणका क्रममा देखिएका गैरअनुरूपताको अनुगमन गर्न चितवन, मकवानपुर र सिन्धुलीमा प्राविधिक टोली परिचालन गरेको छ। काभ्रेका सार्वजनिक निकायमा कार्यरत कर्मचारीले आचारसंहिता पालना गरे नगरेको अनुगमन गर्न पनि टोली खटाइएको छ।
मोरङ, सङ्खुवासभा, ताप्लेजुङ, इलाम, खोटाङ र रामेछापलगायत जिल्लामा आचारसंहिता अनुगमन, सेवा प्रवाहको अवस्था मूल्याङ्कन, सेवाग्राही सर्वेक्षण तथा सदाचारसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न टोली गठन गरिएको छ। काठमाडौं उपत्यकाभित्रका विभिन्न सरकारी निकायमा पनि नियमित अनुगमन भइरहेको केन्द्रले जनाएको छ।
नेपाल ट्रष्टको स्वामित्वमा रहेका सम्पत्तिको संरक्षण तथा व्यावसायिक उपयोगको सम्भावना अध्ययन गर्ने क्रममा धादिङको छत्रे देउरालीस्थित करिब १५ हजार रोपनी क्षेत्रफलको सम्पत्तिमा मङ्सिर १० गते अनुगमन गरिएको छ। ट्रष्टका पदाधिकारी तथा प्राविधिक सम्मिलित टोलीले उक्त सम्पत्तिको दिगो उपयोगमार्फत आम्दानी सिर्जना गरी राष्ट्रहितमा प्रयोग गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको छ।
त्यस्तै, ट्रष्टको लिजसम्बन्धी नियमावली तयार गर्न पाँच सदस्यीय समिति गठन गरिएको कार्यालयले जनाएको छ।
विपद् कोषमा १८ अर्ब ६२ करोड मौज्दात
सहसचिव अर्यालका अनुसार भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मङ्सिर ११ गते बिहान ९ बजेसम्म १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ मौज्दात रहेको छ।
कोष सञ्चालन समितिको गत भदौ १६ गतेको निर्णयअनुसार उक्त कोषबाट एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा प्रशासनिक सुधार, सुशासन, लगानी प्रवर्द्धन, साइबर सुरक्षा, सार्वजनिक खरिद व्यवस्थापन तथा विपद् व्यवस्थापनलगायत क्षेत्रमा भएका प्रगतिलाई समेटिएको छ।
तपाईको प्रतिक्रिया