शनिबार १२ मङ्सिर २०८३
समाज

अफलाइन पठाओको नाममा यात्रुको सामान लिएर फरार हुने आरोपमा ६१ वर्षीय पोखरेल पक्राउ

शुक्रबार मङ्सिर ११, २०८३/ Friday 11-27-26

अफलाइन पठाओको नाममा यात्रुको सामान लिएर फरार हुने आरोपमा ६१ वर्षीय पोखरेल पक्राउ

काठमाडौं । अफलाइन पठाओ सेवामार्फत सामान गन्तव्यसम्म पुर्‍याइदिने भन्दै यात्रुहरूको सामान लिएर फरार हुने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–११ घर भई हाल काठमाडौंको बानियाँटार बस्दै आएका ६१ वर्षीय हरिबहादुर पोखरेल रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई शुक्रबार पक्राउ गरिएको हो।

काठमाडौंको बसपार्क क्षेत्रमा अफलाइन पठाओ स्कुटर सञ्चालन गर्ने व्यक्तिले उपत्यकाबाहिरबाट आएका यात्रुलाई सामान गन्तव्यसम्म पुर्‍याइदिने आश्वासन दिएर सामान लिने र त्यसपछि फरार हुने गरेको भन्दै प्रहरीमा गुनासो परेको थियो।

प्राप्त गुनासोका आधारमा प्रहरी प्रभाग गोंगबु र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा पोखरेललाई फेला पारेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पोखरेललाई बा ६३ प ८३४३ नम्बरको स्कुटरसहित नियन्त्रणमा लिइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया