मंगलबार ६ कार्तिक २०८१
बिजनेस

बुद्ध एयरका यात्रुले ढोका खोलेपछि...

बिहीबार असोज २४, २०८१/ Thursday 10-10-24

काठमाडौँ । विराटनगरबाट जनकपुरका लागि उड्ने क्रममा रहेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी डोर (आपतकालीन ढोका) खोलेका छन्।

बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्रकुमार कर्णका अनुसार आज विहान काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ५०५ विमान भिजिबिलिटी कमजोर हुँदा जनकपुर विमानस्थलमा अवतरण हुन नसकेपछि फर्केर विराटनगर विमानस्थलमा अवतरण गरिएको थियो।

आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडानअगावै विस्तृतरूपमा यात्रुलाई जानकारी गराएका हुन्छन्। आपतकालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्‍याउँछ।

जनकपुरको मौसममा सुधार भएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमान ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा विमानको विमानको इमर्जेन्सी ढोकानजिकै बसेका यात्रुले उक्त ढोका खोलेका थिए। 

उक्त घटनापछि चालक दलले विमान पार्किङ–वे मै फर्काएका थिए। उक्त विमानको प्राविधिक जाँचपछि नियमित उडान गरेको बुद्ध एयरले जनाएको छ। घटनापछि ती यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीको जिम्मा लगाइएको छ।

केही सातायता यात्रुले विमानका इमर्जेन्सी ढोका खोलेका घटना सार्वजनिक भएका छन्। यही अक्टोबर २ तारिखमा विराटनगरबाट काठमाडौँ उडानमा र ७ अक्टोबरमा नेपालगञ्जबाट काठमाडौँ उडानमा पनि यात्रुले इमर्जेन्सी ढोका खोलेका थिए। 

हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएशन) ऐन, २०१५’ अनुसार १ देखि ३ वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरी जन्मकैदसम्म सजाय हुने प्रावधान छ।

तपाईको प्रतिक्रिया