मंगलबार ६ कार्तिक २०८१
समाज

बिरामीको मृत्यु भएपछि मेडिसिटी अस्पतालविरुद्ध मुद्दा दायर, पाँच करोड क्षतिपूर्ति माग

मंगलबार कार्तिक ६, २०८१/ Tuesday 10-22-24

काठमाडौं । मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएको बिरामीको मृत्यु भएपछि परिवारले ललितपुर जिल्ला अदालतमा पाँच करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेका छन्।

काठमाडौँ, वनस्थलीका ज्ञानप्रसाद रिमाल मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएको तर चिकित्सकहरूले गलत औषधिको प्रयोग र उपचार गरेकाले उनको मृत्यु भएको दाबी गर्दै परिवारले पाँच करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेका हुन् । 

गत असोज १ गते मुटुको उपचार र मृगौलाको डायलासिस गर्ने भन्दै रिमाल अस्पतालमा भर्ना भएका थिए । तर, उनको असोज ४ गते मृत्यु भएको थियो । चिकित्सकहरूले गलत औषधिको प्रयोग र उपचारमा लापरबाही गरेकै कारण उनको मृत्यु भएको परिवारको आरोप छ ।

रिमाल अमेरिकामा बसोबास गर्दै आएका थिए । नेपाल आएका उनी मुटुको उपचार र मृगौलाको डायलासिसका लागि मेडिसिटी अस्पतालमा भर्ना भएको फिरादपत्रमा उल्लेख छ । सुरुमा उनलाई मुटुको इसीजी गराइएको थियो । बेलुका जाँचपछि मुटुमा ब्लकेज देखिएको भन्दै बिहान एन्जीयोग्राम गर्ने भनिएको थियो ।

जिल्ला अदालतमा दर्ता भएको फिरादपत्रमा  बेलुका परिवारका तर्फबाट कुरुवा बस्नु नपर्ने र आवश्यक परे अस्पतालले नै खबर गर्ने भनेपछि रिमाल परिवार घर फर्के। असोज ३ गते बिहान ६ बजे परिवारले सोध्दा अवस्था सामान्य भएको तर हात सुन्निएर निलो भएकाले सामान्य उपचार हुने जानकारी गराएको उल्लेख छ।

सोही दिन राति नौ बजेदेखि बिरामीको हातमा फोका देखा पर्न थालेको थियो। रातभरि बिरामीको अपडेट नपाएपछि परिवार भोलिपल्ट बिहान ६ बजे अस्पताल पुग्दा हातमा टेपको एलर्जी भएको र रगत बगेको भनेर जानकारी गराएको तर हात पूरै फोकाले समस्याग्रस्त भएको कुरा अस्पतालले लुकाएको फिरादपत्रमा उल्लेख छ।

 

 

तपाईको प्रतिक्रिया