मंगलबार ६ कार्तिक २०८१
बिश्वो

अभियन्ता उर्मिला चौधरीलाई ग्लोबल एन्टी-रेसिज्म च्याम्पियन

मंगलबार कार्तिक ६, २०८१/ Tuesday 10-22-24

काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयले अभियन्ता उर्मिला चौधरीलाई ग्लोबल एन्टी-रेसिज्म च्याम्पियनले सम्मानित गरेको छ । चौधरीले नेपालमा सीमान्तिकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय नेतृत्व र प्रतिबद्धता देखाएको भन्दै अमेरिकी विदेश मन्त्रालयले उक्त पुरस्कारबाट सम्मानित गरेको हो । 

उर्मिला चौधरी उक्त पुरस्कारबाट सम्मानित भएको जानकारी दिँदै काठमाडौंस्थित अमेरिकी दूतावासले लेखेको छ, 'प्रणालीगत जातीय विभेद, भेदभाव, र जातिवादको विरुद्ध उहाँले गर्नुभएको अथक काम, साथै शिक्षामा समान पहुँच, न्याय, र आर्थिक विकासको पक्षमा उहाँको अथक योगदान वास्तवमै प्रेरणादायी छ ।'

पूर्वकमलरीसमेत रहेकी उर्मिला चौधरीले कमलरीमुक्त अभियानमा संलग्न भएकी अभियन्ता हुन् । ११ वर्ष 'कमलरी-जीवन' बिताएकी उर्मिला २०६३ माघ १ मा मुक्त भएसँगै त्यही अभियानमा जोडिएकी हुन् ।

अमेरिकी विदेश मन्त्रालयले चौधरीसँगै घानाका मानवअधिकारवादी अभियन्ता दिन्ती सुले तायिरु, नर्थ म्यासेडोनियाका अभियन्ता एल्भिस शाक्जिरी, मेक्सिकोको महिलावादी अभियन्ता तान्या दुआर्ते, बोलिभियाकी आदिवासी राजनीतिज्ञ तथा मानवअधिकारवादी अभियन्ता तोमासा यारहुई जाकोमे र नेदरल्यान्ड्सका अभियन्ता एवं पूर्वसांसद जोन लिर्डामलाई प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया