मंगलबार ६ कार्तिक २०८१
समाज

सञ्चालनमा आयो खुर्कोटको बेलिब्रिज, यात्रुवाहक गाडी चलाउन मिल्ने

मंगलबार कार्तिक ६, २०८१/ Tuesday 10-22-24

रामेछाप ।  बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीको बेलिब्रिज सञ्चालनमा आएको छ । यात्रुवाहक सवारीसाधन गुड्न मिल्ने गरी आज (मंगलबार) देखि पुलमा गाडी गुड्न थालेका हुन् ।

सडक विभाग र नेपाली सेनाको सहयोगमा बेलिब्रिज पुनर्निर्माण भएको हो । सडक विभागले हेटौंडाबाट पाँच ट्रक बढी सामग्री सिन्धुली पुर्‍याएर बीपी राजमार्गसँग सम्बन्ध स्थापित गरेको छ । आजबाट माइक्रो, सुमो, बस पुलमार्फत रामेछाप सिन्धुली आउजाउ गर्न सक्ने संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका शुभराज न्यौपानेले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार बेलिब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाको टोलीलाई सम्मान गरेका छन् ।

१२ असोजको बाढीका कारण क्षतिग्रस्त बनेको सो पुल द्रुत गतिमा निर्माण गरी सवारी आवागमन सुचारु गराउन महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनले सो टोलीलाई सम्मान गरेका हुन् ।

उनले ढुवानीका साधन चल्न भने पुलको भारलोड थप चेकजाँच गर्नुपर्ने बताए । असोज १०–१२ गतेको अबविरल वर्षापछिको बाढीले  बीपी राजमार्गसहितका सडकमा क्षति पुर्‍याएको थियो । रोशी खोलाले बगाएको बीपी राजमार्ग अस्थायी रुपमा दशैँअघि सुरु भए पनि रामेछाप र सिन्धुली जोड्ने बेलिब्रिज नहुँदा घुमेर हिँड्नुपर्ने बाध्यता थियो । 

तपाईको प्रतिक्रिया