मंगलबार ६ कार्तिक २०८१
राजनीति

आगामी अधिवेशनमा सबै विधेयक पेश गर्न सभामुखको निर्देशन

मंगलबार कार्तिक ६, २०८१/ Tuesday 10-22-24

काठमाडौं । सभामुख देवराज घिमिरे र प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता प्राप्त दलका प्रमुख सचेतक र सचेतक तथा विभिन्न संसदीय समितिबीचको छलफल सकिएको छ ।

मंगलबार सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा बैठक बसेको थियो । बैठकमा सभामुख घिमिरेले सदनको आगामी अधिवेशनमा समितिमा बिचाराधीन रहेका सबै विधेक पेश गर्नेगरी काम गर्न निर्देशन दिएका छन् । बैठकमा समितिका सभापतिहरुले भने कोरम नपुग्ने समस्या रहेको गुनासो गरेका थिए । उनीहरुले संसद सचिवालयले खाजा खर्चको रुपमा दिने रकम कम भएकोसमेत गुनासो गरेको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए ।

‘हामीले कुन समितिमा कुन विधेयक छ । त्यो विधेयक पास गर्न के समस्या रहेको छ । अहिलेसम्म कति काम भएको छ र कति समयमा पास गर्न सक्छौ भन्ने सभामुखको जिज्ञासामा हामी सबैले आआफ्नो तर्फबाट जवाफ दियौँ’, उद्योग समितिका सभापति खानले बैठकपछि भने, ‘सदनको बैठक सकिएपछि प्राय माननीयहरू आफ्नो क्षेत्रतिर लाग्नुहुन्छ । त्यस कारण समितिका बैठक बस्न सकेको छैन अर्कोतिर बैठक बस्दा समेत चियानास्ताको समेत दिन सक्ने अवस्था छैन यो समस्या समाधान गर्नुपर्छ भन्ने कमन कुरा आएका छन् ।’

सभामुख घिमिरेले भने लगातार समितिको बैठक डाकेर छलफललाई तीव्रता दिन र आगामी अधिवेशनमा सबै विधेयक सदनमा टेबुल गर्नेगरी काम गर्न निर्देशन दिएको पनि खानले बताए ।“कुन समितिमा के विधेयक छ त्यो पास गर्नलाई के समस्या छ ? अहिलेसम्म कति काम भएको छ ? र कति दिनमा पास गर्न सक्छौँ ? भन्ने सभामुखको जिज्ञासा छ,” खानले भने, “आगामी अधिवेशनमा सबै विधेयक पेस गर्न निर्देशन दिनुभएको छ ।”

सभामुखसँगको छलफलमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान, कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदी र अर्थ समितिका सभापति सन्तोष चालिसे सहभागी थिए ।

तपाईको प्रतिक्रिया