काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारास्थित कलैया उपमहानगरपालिकाको नगर अधिवेशनको नतिजा विवादमा परेपछि असन्तुष्ट कार्यकर्ताहरूले पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा प्रदर्शन गरेका छन्।
आइतबार केन्द्रीय कार्यालय पुगेका कार्यकर्ताहरूले नगर अधिवेशनको निर्वाचन प्रक्रिया र त्यसपछिका निर्णयमाथि प्रश्न उठाउँदै पारदर्शी छानबिन तथा स्पष्ट जवाफको माग गरेका हुन्।
कार्यकर्ताहरूका अनुसार नगर अधिवेशनमा उमाशङ्कर रौनियार १२४ मतसहित सभापतिमा निर्वाचित भएका थिए। निर्वाचन परिणाम सार्वजनिक भई निर्वाचित पदाधिकारीहरूको शपथ ग्रहणसमेत सम्पन्न भइसकेको अवस्थामा पुनः निर्वाचन गराउने सूचना जारी गरिएपछि विवाद चर्किएको उनीहरूको भनाइ छ।
प्रदर्शनकारीहरूले मधेस प्रदेश समितिले आवश्यक बहुमत नपुगेको कारण देखाउँदै पुनः निर्वाचनको निर्णय गरेको दाबी गरेका छन्। उनीहरूका अनुसार यस्तो निर्णय पार्टी विधान र लोकतान्त्रिक अभ्यासविपरीत छ।
उनीहरूले एकपटक निर्वाचन सम्पन्न भई विजयी उम्मेदवार घोषणा गरिसकेपछि पुनः निर्वाचन गराउने निर्णय कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्। साथै, आधिकारिक लेटरहेड वा जिम्मेवार पदाधिकारीको हस्ताक्षरबिनै सामाजिक सञ्जालमार्फत निर्वाचन रद्द गरिएको सूचना सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएका छन्।
कार्यकर्ताहरूले पार्टी नेतृत्वसँग निष्पक्ष निर्णय, स्पष्ट धारणा तथा अधिवेशन प्रक्रियामा पूर्ण पारदर्शिता कायम गर्न माग गरेका छन्। उनीहरूले विधानअनुसार निर्णय गर्दै संगठनभित्र लोकतान्त्रिक मूल्य र प्रक्रियाको सम्मान हुनुपर्नेमा जोड दिएका छन्।
तपाईको प्रतिक्रिया