रास्वपाद्वारा लुम्बिनीका पाँच जिल्लामा नयाँ नेतृत्व चयन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लुम्बिनी प्रदेशका पाँच जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट दाङ, रोल्पा, बर्दिया, गुल्मी र पाल्पामा जिल्ला सभापति चयन भएका हुन्।
निर्वाचित सभापतिहरूमा दाङबाट किरण खनाल, रोल्पाबाट बलराम थापा, बर्दियाबाट शान्ता बुढा क्षेत्री, गुल्मीबाट हरिप्रसाद श्रेष्ठ तथा पाल्पाबाट विष्णुप्रसाद भण्डारी रहेका छन्।
प्रदेश उपसभापति शालिकराम घिमिरेका अनुसार रोल्पा र पाल्पामा सर्वसम्मत नेतृत्व चयन भएको हो भने अन्य तीन जिल्लामा निर्वाचनमार्फत सभापति टुंगो लगाइएको छ।
लुम्बिनी प्रदेशका बाँकी छ जिल्लाको अधिवेशनको नतिजा भोलिसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ। यद्यपि रुकुम पूर्वमा अधिवेशन सञ्चालन हुने वा नहुने विषयमा अझै स्पष्ट निर्णय हुन सकेको छैन।
यसैबीच रुपन्देही, अर्घाखाँची र प्युठानमा जिल्ला अधिवेशन जारी रहेको छ। केही जिल्लामा मतदान प्रक्रिया सम्पन्न भइसकेको छ भने नतिजा घोषणा हुन बाँकी रहेको जनाइएको छ।
रुपन्देहीमा जिल्ला सभापति पदका लागि उपसभापति आशिष न्यौपाने र प्रदेश सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख महेन्द्र उपाध्यायबीच प्रतिस्पर्धा भइरहेको छ।
रास्वपाले आगामी जेठ २६ गतेदेखि प्रदेश अधिवेशन सुरु गर्ने तयारी गरिरहेको छ। पार्टीले राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ भने बाँकी १० जिल्लाको अधिवेशन महाधिवेशनपछि गर्ने योजना बनाएको छ।
पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने तय भएको छ।
तपाईको प्रतिक्रिया