म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ
काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरुङले आफूविरुद्ध गठित छानबिन समितिको प्रतिवेदनबाट सफाइ पाउने विश्वास व्यक्त गरेका छन्। आइतबार गोरखा पुगेका उनले सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि निष्पक्ष छानबिनमा सहयोग पुर्याउन आफूले गृहमन्त्री पद त्यागेको बताए।
गुरुङका अनुसार छानबिन प्रक्रिया पूरा भइसकेको छ र आफू निर्दोष सावित हुनेमा ढुक्क छन्। उनले आफूलाई सफाइ मिलेमा पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न सक्ने संकेत पनि गरेका छन्।
पुनः गृहमन्त्री बनेको अवस्थामा सुरुआती दुई महिनासम्म बधाई दिन वा तस्बिर खिच्न मन्त्रालय नआउन उनले पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे। “यदि फेरि गृहमन्त्री बनेँ भने बधाई दिन र फोटो खिच्न मन्त्रालय धाउन आवश्यक छैन,” उनले भने।
गुरुङमाथिको छानबिन सम्बन्धी प्रतिवेदन समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइसकेको छ। मन्त्रिपरिषद्ले वैशाख २८ गते पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।
समितिले सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा रहेका व्यवसायी दीपक भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद प्रकरणबारे अनुसन्धान गरेको हो। गुरुङले भट्टको कम्पनीमा करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको र त्यसको स्रोतबारे प्रश्न उठेपछि उनले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
हाल सांसद रहेका गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा जिल्ला अधिवेशनमा सहभागी हुन आइतबार गृहजिल्ला पुगेका हुन्।
तपाईको प्रतिक्रिया