अरु देशको भन्दा त्रिभूवन विमानस्थल साँघुरो छ, यात्रु छिटो आइपुग्छन्, सामान आउन ढिलो हुन्छः मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र साँघुरो भएको बताएका छन् ।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पाण्डेले विमानस्थलको क्षेत्र साँघुरो भएकाले यात्रु छिट्टै टर्मिनल भवनमा आइपुग्ने र लगेज ल्याउन धेरै समय लागेजस्तो देखिएको बताए ।
उनले अरु देशमा जहाँजबाट उत्रिएर आउन नै समय लाग्ने र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सानो हुँदा तुरुन्तै आइहाल्ने कारण धेरै समय कुर्नुपरेको जस्तो देखिएको बताए ।
छरितो र प्रभावकारी बनाउने कुरामा सरकार गम्भीर रहेको बताए । मन्त्री पाण्डेले भने, ‘हाम्रो एयरपोर्ट, हाम्रो टर्मिनल सबै साँघुरो अवस्थामा छ । नजिक नजिक छ । अरु देशका र हाम्रो के फरक होला भनेर हेरेको अरु देशमा एउटा मान्छे एउटा प्लेनबाट उत्रिएर लगेज लिने ठाउँसम्म आइपुग्न नै निकै समय लाग्छ । हाम्रो जोडिएको छ नजिकै छ, मान्छे तुरुन्तै आइपुग्छ ।’
मन्त्री पाण्डेले मान सरोवर जाने पर्यटकहरुका लागि चिनियाँ दूतावासले भेरिफिकेसन गर्ने भनेर पूर्वसूचना बिनै नयाँ नियम ल्याइएका कारण समस्या आएको जानकारी दिए ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता ४५ लाख यात्रुलाई ओहोरदोहोर गराउने रहेको तर यस वर्ष ९५ लाख यात्रुहरु ओहोरदोहोर गराइसकेको उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया