शनिबार २३ फाल्गुण २०८२
समाज

कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको वार्ता, नेपालीको सुरक्षाबारे चासो

बिहीबार फाल्गुण २१, २०८२/ Thursday 03-05-26

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोनमार्फत संवाद गरेकी छन्।

आज दिउँसो भएको कुराकानीका क्रममा प्रधानमन्त्री कार्कीले पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गरिन्। साथै कतारमा कार्यरत करिब ३ लाख ६० हजार नेपाली नागरिकलाई सुरक्षा र संरक्षण उपलब्ध गराएकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले हाल ठूलो संख्यामा रहेका नेपाली नागरिक सुरक्षित रहेको जानकारी पाउँदा खुशी लागेको बताउँदै उनीहरूको हेरचाहका लागि कतार सरकारप्रति कृतज्ञता व्यक्त गरिन्। उनले पश्चिम एसियाको अवस्थालाई नेपालले नजिकबाट नियालिरहेको उल्लेख गर्दै सबै पक्षलाई संयमित रहन, द्वन्द्व नबढाउन र नागरिकको सुरक्षामा ध्यान दिन आग्रह गरिन्।

उनले संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, जेनेभा अभिसन्धि तथा मानवीय कानुनको सम्मान र पालना गर्नुपर्नेमा जोड दिइन्। कुनै पनि परिस्थितिमा युद्ध शान्तिको विकल्प हुन नसक्ने भन्दै दीर्घकालीन समाधान वार्ता र कूटनीतिक पहलबाट मात्र सम्भव हुने धारणा पनि उनले व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान, आर्थिक तथा सांस्कृतिक सहकार्य तथा जनस्तरको सम्बन्धमार्फत आगामी दिनमा सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिन्। साथै कतारको सार्वभौम भूमिमा विशेषगरी गैरसैनिक क्षेत्रमा भएको आक्रमणप्रति चासो व्यक्त गर्दै कतारप्रति ऐक्यबद्धता जनाइन्।

 

 

तपाईको प्रतिक्रिया