काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। उक्त क्षेत्रमा राप्रपाको आफ्नै उम्मेदवार नभएकाले आर्थिक, सामाजिक र समृद्धिसम्बन्धी एजेन्डामा कांग्रेससँग निकटता रहेको भन्दै समर्थन जनाइएको हो।
राप्रपा रुपन्देही–२ का अध्यक्ष रामबहादुर थापाले विज्ञप्ति जारी गर्दै प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेललाई मत दिन पार्टी पंक्ति र मतदातासमक्ष आग्रह गरेका छन्। सिद्धान्तगत भिन्नता रहे पनि देशको समग्र विकासका मुद्दामा समान दृष्टिकोण भएकाले राजनीतिक सहमतिको निरन्तरता कायम राख्दै समर्थन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
राप्रपाले २०७९ सालको निर्वाचनमा यस क्षेत्रमा समानुपातिकतर्फ ५ हजार ६ सय मत प्राप्त गरेको थियो। रुपन्देही–२ मा कांग्रेसका पौडेलसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विष्णु पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सुभाष (विश्वदीप) पाण्डेसहित ३९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
तपाईको प्रतिक्रिया