शनिबार २३ फाल्गुण २०८२
बिजनेस

तिहारको रौनकसँगै फूलको व्यापारमा वृद्धि

शुक्रबार असोज ३१, २०८२/ Friday 10-17-25

काठमाण्डौ । तिहारको चहलपहल सुरु भएसंगै फूलको किनबेचमा वृद्धि भएको छ। फूल र रंगको पर्वको रूपमा चिनिने तिहार नजिकिँदै गर्दा फूलको माग पनि बढेको हो। पूजाआजा, विवाह, स्वागत, बिदाइदेखि मृत्युपछि समेत प्रयोग हुने फूलखेतीमा पछिल्लो समय नेपाल आत्मनिर्भर बन्न थालेको छ।

नेपालमा सन् २०११ सालदेखि फूलखेती हुँदै आएको भए पनि सन् २०५० सालपछि यसले व्यावसायिक रूप लिन थालेको हो। पछिल्लो दशकयता फूलखेतीबाट आम्दानी बढ्ने भएपछि कृषक र व्यवसायीको सङ्ख्या पनि बढ्दो छ।

तिहारमा फूलको प्रयोग धेरै हुने भएकाले यस अवधिलक्षित फूलखेती गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ। छोटो समयमा पर्याप्त आम्दानी हुने भएकाले सयपत्री र मखमलीको व्यावसायिक खेती बढेको छ।

नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार तिहारमा मात्र काठमाण्डौ उपत्यकाभित्र करिब ४० लाख माला बिक्री हुने गरेको छ। फूलको माग बढ्दै गएसँगै नर्सरीदेखि जमिन भाडामा लिएर पुष्प व्यवसाय गर्न थालिएको उनले जानकारी दिनुभयो।

देशभर हाल करिब २७० हेक्टर क्षेत्रमा पुष्पखेती भइरहेको छ। यस व्यवसायमा आठ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको र करिब ५३ हजार पाँच सय जनालाई रोजगार प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।

पुष्प व्यवसायको माग र आपूर्तिमा वार्षिक वृद्धिदर १० प्रतिशतभन्दा बढी रहेको छ। कोरोना महामारीका बेला यस क्षेत्रमा असर भए पनि विस्तारै व्यवसायले गति लिँदै गएको छ। नेपालमा उत्पादन हुने फूलहरू जापान, हङकङ, अमेरिका, अस्ट्रेलिया, कतार, क्यानडा, यूएईलगायत देशमा निर्यात भईरहेका छन् ।

 

तपाईको प्रतिक्रिया