कास्की । केही महिनादेखि सुस्त गतिमा चलेको पोखराको पर्यटन क्षेत्र फेरि जीवन्त बनेको छ। दशैं, तिहार र छठ पर्वको लामो बिदा, खुला मौसम र अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यले देशभित्रका साथै विदेशी पर्यटकलाई पनि आकर्षित गरेको छ। फेवातालको किनार, साहसिक खेल–कुद र पर्यटन गतिविधिका कारण अहिले पोखरामा उत्साहको माहोल देखिएको छ।
पोखरामा अहिले प्याराग्लाइडिङ, बन्जी जम्प, जिप फ्लायर, हॉट एयर बलुन र माउन्टेन बाइकीङ्ग जस्ता साहसिक गतिविधिमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ। फेवातालको शान्त वातावरण र अन्नपूर्ण हिमशृङ्खलाको दृश्यले पनि पर्यटकलाई आकर्षित गरिरहेको पर्यटन व्यवसायीले बताएका छन्।
हालैका महिनाहरूमा राजनीतिक आन्दोलन, जेन–जी आन्दोलन र प्रतिकूल मौसमको असरले पोखराको पर्यटन क्षेत्रमा मन्दी आएको थियो। होटलहरूमा कोठा खाली र सडकमा शान्त वातावरण रहँदा व्यवसायी चिन्तित थिए। तर अहिले परिस्थिति पूर्ण रूपमा बदलिएको छ।
होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार, “हाल लेकसाइड क्षेत्रका ९० प्रतिशतभन्दा बढी होटल भरिएका छन्। तिहारको समयमा आन्तरिक पर्यटक मात्र होइन, भारत, चीन, अमेरिका र युरोपका पर्यटक पनि पोखरा आइरहेका छन्। होटलहरूमा बुकिङ नपाउने अवस्था बनेको छ।”
स्थानीय अर्थतन्त्रमा पनि पर्यटनको पुनरुत्थानले सकारात्मक प्रभाव पारेको छ। होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, ट्याक्सी व्यवसायदेखि हस्तकला र स्थानीय उत्पादनसम्मको कारोबार बढेको व्यवसायीले बताएका छन्। पोखरामा करिब १,२०० पर्यटकीय स्तरका होटल सञ्चालनमा छन्, जसले करिब १५ हजार व्यक्तिलाई प्रत्यक्ष रोजगार दिएका छन्। होटल व्यवसायमै झन्डै ६ खर्ब रुपैयाँ बराबरको लगानी भएको छ भने समग्र पर्यटन क्षेत्रमा करिब ८ खर्ब रुपैयाँ लगानी भएको अध्यक्ष सुवेदीले जानकारी दिए।
सुवेदीका अनुसार, “हालको चहलपहल अस्थायी हुन सक्छ, तर पूर्वाधार सुधार, सरसफाइ र अन्तर्राष्ट्रिय बजार प्रचारमा लगानी बढाइए पर्यटन क्षेत्र दीर्घकालीन रूपमा स्थायी विकास गर्न सकिन्छ।”
पोखरामा अहिले फेवातालका डुङ्गा व्यस्त छन्, होटलहरू भरिएका छन् र गल्लीहरूमा पर्यटकका हाँसो गुञ्जिरहेका छन्। राजनीतिक स्थायित्व, राम्रो मौसम र उत्सवको बिदाले पोखरालाई फेरि “पर्यटनको स्वर्ग” बनाएको व्यवसायीहरूको भनाइ छ।
तपाईको प्रतिक्रिया